भारतसँग ११ रनले पराजित अफगानिस्तान विश्वकपबाट बाहिरीयो

लण्डन । अफगानिस्तान जारी एकदिवसीय क्रिकेट विश्वकपबाट बाहिरीने पहिलो टोली बनेको छ । शनिबार भएको रोमाञ्चक खेलमा भारतसँग ११ रनले पराजित भएसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना समाप्त बनेको हो ।

प्रतियोगिताको अघिल्लो चार खेलमा लगातार पराजय बेहोरेको अफगानिस्तानलाई सेमिफाइनल सम्भावना जीवित राख्न कुनै पनि अवस्थामा भारतलाई परातिज गर्नुपर्ने बाध्यता थियो । यद्यपि अफगानिस्तानले आफूलाई आवश्यक नतिजा निकाल्न सकेन ।

अफगानिस्तानविरुद्धको खेलमा भारतले भने जितसँगै केही महत्वपूर्ण उपलब्धीसमेत हात पारेको छ । प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको भारतले एकदिवसीय क्रिकेट विश्वकपमा ५०औं जित हात पारेको छ । यही खेलमा बलर मोहम्मद सामीले ह्याट्रिक विकेट लिएका छन् । उनी विश्वकपमा यो उपलब्धी हात पार्ने मात्रै दोस्रा भारतीय खेलाडी बनेका छन् ।

जितसँगै पाँच खेलबाट नौं अंक बनाएको भारत अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भारतले पाँचमध्ये चार खेलमा जित हात पारेको छ भने न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण अनिर्णीत बनेको थियो ।

साउथह्याम्पटनमा टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुईसय २४ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तान ४९.५ ओभरमा दुईसय १३ रनमै समेटिन पुगेको थियो ।

अफगानिस्तानलाई जितका लागि अन्तिम ६ बलमा १६ रन आवश्यक परेको अवस्थामा सामीले ह्याट्रिक विकेट लिएका हुन् । उनले अन्तिम ओभरको तेस्रो, चौथो र पाँचौ बलमा अफगानिस्तानका मोहम्मद नावी, अफ्ताब आलम र मुजिव उर रहमानलाई लगातार आउट गरेका थिए ।

सामीले ह्याट्रिकसँगै चार विकेट लिए । उनीबाहेक म्यान अफ दी म्याच चुनिएका जसप्रित बुम्राह, युजभेन्द्र चहल र हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए ।

भारतको सशक्त बलिङसामु अफगानिस्तानका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । मोहम्मद नाबीले ५५ बलमा ५२ रनको अर्धशतकीय योगदान गरे । रहमत शाहले ३६, कप्तान गुल्बदिन नइबले २७, हस्मतुल्लाह सहिदीले २१, नजिबुल्लाह जद्रानले २१, रासिद खानले १४ र हज्रतुल्लाह जजईले १० रन जोडेका थिए ।

त्यसअघि अफगानी स्पिनरले उत्कृष्ट प्रदर्शन गर्दा भारत पनि मध्यम योगफलमै रोकिएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ६३ बलमा ६७ र केदार जाधवले ५२ रनको अर्धशतकीय योगदान दिए ।

कोहलीले आफ्नो पारीमा पाँच चौका प्रहार गरेका थिए । जाधवले एक छक्का र तीन चौका प्रहार गरे । अन्य ब्याट्सम्यान भने सस्तो योगफलमै आउट हुन पुगे । प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ३०, विजय शंकरले २९ र महेन्द्रसिंह धोनीले २८ रन जोडेका थिए ।

अफगानी स्पिनरले भारतको पाँच विकेट लिए । त्यसमा मोहम्मद नाबीको नाममा दुई विकेट रह्यो । मुजिव उरु रहमान, रहमत शाह र राशिद खानले एकरएक विकेट लिए । यस्तै तीब्र गतिका बलर गुल्वदिन नइबले दुई र अफ्ताब आलमले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published.