नागरिकलाई खुशी बनाउने हुनुपर्छ-मुख्यमन्त्री
हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिक रमाउने खालको विकास आवश्यक रहेको बताएका छन् । त्यसका लागि नागरिकलाई खुशी बनाउने खालको बजेट ल्याउनुपर्ने उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाको पाँचौं नगरसभामा मुख्यमन्त्री पौडेलले उत्पादन र रोजगार सृजना हुनेखालको बजेट बनाउन सके मात्र राम्रो हुने उल्लेख गरे ।
मुख्यमन्त्री पौडेलले विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले एक पटकको बजेटले मात्रै ठूलो प्रभाव नपार्ने बताए । उनले बजेटले आगामी दिनमा समानुपातिक विकासलाई समेट्नुपर्ने विचार व्यक्त गरे । विकासका लागि पैसा वा अर्थ मात्रै ठूलो कुरा नभएको बताउँदै मुख्यमन्त्री पौडेलले योजना प्रमुख कुरा भएको जिकिर गरे ।
हेटौंडाको शहीद स्मारक ९० हजार लागतमा सुरु भएको योजना आज देशकै चर्चित पर्यटकीय गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै उनले कार्यान्वयनमा इमान्दारिता र लगनशीलता भए विकास र समृद्धि सम्भव भएको बताए ।