सहकारीमा कूल पूँजीको ७० प्रतिशत अपचलन

नेपालगन्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ ।

बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा ५२ करोड अधिकतम पूँजी रहेको नेपालगञ्ज सहकारीको झन्डै ३८ करोड अपचलन भएको उल्लेख छ । सो प्रतिवेदनअनुसार, सहकारीको कूल ५२ करोड अधिकतम पूँजीमा विगतको २६ करोडमा थप १२ करोड अपचलन भएको छ ।

यसैबीच, सो सहकारी संस्थाले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै असार २१ गते विशेष साधारणसभा बोलाएको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले निक्षेप लगानीकर्ताको रकम फिर्ता कसरी गर्ने र संस्थालाई कसरी अगाडि बढाउने भन्ने मुख्य एजेण्डा बनाएर विशेष साधारणसभा बोलाइएको बताउनुभयो ।

एक महीनाअघि सो सहकारीका प्रबन्धकलगायतका कर्मचारीले रकम अपचलन गरेपछि बचतकर्ताको संस्था कार्यालयमा घुइँचो लाग्ने गरेको छ । पैसा पाउने आशामा सहकारीपीडित दैनिक सहकारीको कार्यालय अगाडि जाने गर्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीको रकम अपचलन गर्ने कर्मचारीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.