पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हरायो, सेमिफाइनल सम्भावना कायमै

बर्मिङघम (इङ्ल्यान्ड) । जित्नै पर्ने खेलमा बलियो प्रतिद्वन्दी न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले जारी एकदिवसीय क्रिकेट विश्वकपमा सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ ।

पाकिस्तानसँगको पराजयपछि न्युजिल्यान्डलाई भने सेमिफाइनल प्रवेशका लागि प्रतियोगिताको बाँकी खेलको नतिजासमेत कुर्नुपर्ने भएको छ । पाकिस्तानलाई सेमिफाइनल सम्भावना जीवित राख्न पाकिस्तानलाई कुनै पनि अवस्थामा जित आवश्यक थियो । पराजित भएको अवस्थामा पाकिस्तान प्रतियोगिताबाटै बाहिरीने निश्चित थियो ।

यद्यपि पाकिस्तानले आफूलाई आवश्यक परेको खेलमा सशक्त प्रदर्शन गर्दै जित हात पारेको छ ।

बर्मिङघममा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुईसय ३७ रनको योगफल तय गरेको थियो । जवाफमा पाकिस्तानले ४९.१ ओभरमा मात्रै चार विकेट गुमाएर लक्ष्य पार गरेको हो ।

पाकिस्तानलाई यो महत्वपूर्ण जित दिलाउन बाबर आजमले अविजित १०१ रनको शतकीय योगदान दिए । उनले आफ्नो पारीमा ११ चौका प्रहार गरेका थिए । उनीबाहेक हारिस सोहेलले ६८ रनको योगदान दिएका थिए । उनले आफ्नो पारीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

यी दुई खेलाडीले चौथो विकेटका लागि एकसय २६ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका लागि भने जेम्स निशमले अविजित ९७ र कोलिन डी ग्राण्डहोम्मीले ६४ रनको योगदान दिए पनि टोलीको जित सम्भव भएन । निशमले आफ्नो पारीमा तीन छक्का र पाँच चौका तथा ग्राण्डहोम्मीले एक छक्का र ६ चौका प्रहार गरे ।

यी दुई खेलाडीले छैटौ विकेटका लागि एकसय ३२ रनको साझेदारी गरेका थिए । उनीहरूबाहेक अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान केन विलियम्सन ४१ र कोलिन मुन्रो १२ रनमै आउट भए ।

पाकिस्तानका शहिन शा अफ्रिदीले न्युजिल्यान्डको तीन विकेट लिए । यस्तै मोहम्मद आमिर र शादब खानले एक/एक विकेट लिए । न्युजिल्यान्डका टे«न्ट बोल्ट, लोकी फर्गुशन र केन विलियम्सनले न्युजिल्यान्डको एक/एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published.