युवा र राजनीतिक नेतृत्व

  • रविकिरण हमाल

राजनीति फोहोरी खेल हो भन्ने भनाइ चर्चित छ । यस भनाइको प्रभावले नै नागरिकहरुले राजनीतिलाई फोहोरी खेलको संज्ञा दिँदै आएका छन् । तर राजनीति आफैंमा फोहोरी खेल नभइ यसका खेलाडीका कारण फोहोरी भएको हो ।

सामान्य रुपमा बुझ्दा राजनीति गर्नेहरु समाजका अगुवा हुन् । उनीहरुले नै समाजका अन्य नागरिकलाई अगुवाइ गर्दै मुलुकको उन्नतिमा लाग्न सहयोगी भूमिका खेल्छन् । तर व्यवहार त्यसको ठीक विपरीत भएको छ । राजनीति गर्नेहरु नै चोर, फटाह, भ्रष्टचारी भएको यथेष्ट पाइएको छ । यसबाट नेपाली राजनीतिक क्षेत्र पनि अछुतो रहेको छैन ।

लामो समय नागरिक र देशका लागि भन्दै संघर्ष गरेर आएका नेताहरु सत्ता र शक्तिका लागि राजनीतिक आदर्श, मूल्य मान्यताबाट बिमुख भएका छन् । यद्यपि एकथरी युवाहरु नेतृत्वको भजन कृतनमै व्यस्त छन् । अर्काथरी युवाहरु भने राजनीतिक नेतृत्वको यस्तो क्रियाकलापका कारण राजनीति फोहोरी खेल भन्दै उनीहरुको कामलाई टुलुटुलु हेरिरहेका छन् । युवा पुस्ताका यस्ता कार्यले गलत काम गर्ने नेतृत्वलाई झन् निर्धक्क भएर त्यही गलत काम गर्न प्रेरित गरेको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवाहरु यस्ता कार्यका कारण राजनीतिबाट झन् झन् टाढिँदै गएका छन् ।

राजनीतिमा युवाको आवश्यकता

राजनीतिबाट बिमुख युवालाई राजनीतिमा नै ल्याउन युवाहरु नै अग्रसर हुन आवश्यक छ । किनकि हरेक मानिसलाई आफ्ना दौतरीले जति अरुले प्रभाव पार्न सक्दैन । एउटै उमेर समूहका मानिसहरुका भावना र विचार समान हुन्छ । त्यसैले एकले अर्कोलाई सहज रुपमा रुपान्तरण गर्न सक्दछ ।

राजनीतिमा युवा पुस्ताको प्रवेश आवश्यक रहेकाले राजनीतिमा क्रियाशील युवाले अर्को युवालाई सुझाव दिनु पर्दछ । राजनीतिले गलत दिशा लिए दशकौंको त्याग, बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धिहरु संस्थागत हुन सक्दैन । यसलाई बचाइराख्न पनि युवाहरु राजनीतिमा लाग्न जरुरी छ ।

यस्तै भ्रष्टचार, अन्याय र विभेदविरुद्ध पनि लाग्नु आजको आवश्यकता छ । त्यसैले हामीले यसबारे शून्य शहनशीलता अपनाउनुपर्छ । हाम्रो घर, टोल छिमेक वरपरकै मानिसहरु गलत कार्यमा संलग्न भएको पाए निर्धक्क बिरोध गर्नु पर्दछ । 

युवाहरु भविष्यका नेतृत्व हुन् । त्यसैले नेतृत्व सम्हाल्न तयार भएर बस्नु पर्दछ । राजनीतिक नेतृत्वका लागि प्रमुख तत्व वैचारिक स्पष्टता हो । नेतृत्वले सदैव युगसापेक्ष विचार अँगाल्नु पर्दछ । लोकतान्त्रिक मूल्य र मान्यतालाई अझै उन्नत बनाउनु पर्दछ । यसका लागि वैचारिक स्पष्टता हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published.