असार २२ देखि कांग्रेस केन्द्रीय समिति बैठक, के-के छन् एजेण्डा ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आगामी असार २२ गते बोलाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका सबै संगठन संरचनाहरुको संरचना निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आगामी असार २२ गते आईतबार पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा नेविसंघ, तरण दललगायतका भातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशिल ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रित हुने शर्माको भनाइ छ । केन्द्रीय कार्यालय सानेपामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा गर्न बसेको केन्द्रीय प्रतिनिधिहरुको बैठकमा पार्टीलाई गतिशिल बनाउने गरी एकतावद्ध भएर अघि बढ्न नेतृत्वलाई दवाव दिएपछि कांग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन केन्द्रीय कार्य समिति बैठक बोलाउने भएको हो ।
प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनुअघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको जानकारी दिए ।
उनले राष्ट्रिय जागरण अभियानको समीक्षाका लागि केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएको बताए । यता, केन्द्रीय प्रतिनिधिहरुले पनि सरकारप्रति जनताको वितृष्ण फैलिएकाले दावी गर्दै उनीहरुको विश्वास जित्ने गरी पार्टीको कार्यक्रम अघि बढाउन नेतृत्वलाई दवाव दिएका थिए ।
पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसिरहेको बैठकमा सहभागी भएका हुम्लाका केन्द्रीय प्रतिनिधि हस्तबहादुर मल्लले सरकारको अर्कमण्यता जनताको माझ लगेर उनीहरुको विश्वास जित्ने गरी काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको जानकारी दिए ।
मल्लले पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र एकताको सन्देश दिएको उल्लेख गर्दै त्यसलाई निरन्तर अघि बढाउन पनि पार्टी नेतृत्वलाई सचेत गराए ।