प्रदेश सरकारले लोक सेवा पढाउन थाल्यो
जनकपुरधाम । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत बुधबारदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा एक सय १ जना महिलालाई तयारी कक्षामा समावेश गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयारी कक्षाको शुभारम्भ गरे । मुख्यमन्त्री राउतले प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवाको तयारी कक्षा सञ्चालन गरेको उल्लेख गरे ।
प्रदेश सरकारले सामाजिक रूपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो । महिलाहरूको सशक्तीकरणका लागि बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण, सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माणजस्ता कार्यक्रम अघि सारेको मुख्यमन्त्री राउतले बताए ।
‘सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा पहुँच बढाउन प्रदेश प्रहरी र निजामती सेवामा ५० प्रतिशत आरक्षण गर्ने नीतिसमेत अवलम्बन गरेको छ,’ उनले भने । प्रदेश सरकारले कौटिल्य इन्स्टिच्युटसँगको सहकार्यमा सो कक्षा सञ्चालन गरेको छ ।