बाँके घटनाको विरोधमा कांग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने, देउवा बाँके जाने

काठमाडौं । बाँकेमा नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा कांग्रेसले काठमाडौंमा पनि विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले उक्त घटनाको भर्त्सना गर्दै विरोधस्वरुप प्रदर्शन गर्ने जानकारी गराएको हो ।

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा बिहीबार कार्यक्रम भइरहेका बेला नेकपाका कार्यकर्ताले आक्रमण गरेपछि नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत पार्टीका केही कार्यकर्ता घाइते भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

घटनाको विरोधमा आक्रमणकारीलाई कारवाहीको माग गर्दै कांग्रेसका ललितपुर, भक्तपुर र काठमाडौंका सभापतिहरुले २८ भदौ विहान ८ बजे गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको प्रवक्ता शर्माले बताए ।

उक्त घटनाको विरोधमा शुक्रबार नेपालगञ्जमा पनि प्रदर्शन भएको र शनिबार पार्टी सभापति शेरबहादुर देउवा पनि बाँके जाने शर्माले जानकारी दिए ।

त्यस्तै शनिबार दिउँसो ३ बजे माइतीघर मण्डलामा कांग्रेसले विरोध प्रदर्शनको तयारी गरेको छ ।

कम्युनिष्टको चरित्र उदाङगियो

यसैबीच, कांग्रेस सांसद (प्रतिनिधिसभा) डिला संग्रौलाले बाँकेमा कांग्रेसका नेता कार्यकर्तामाथि भएको आक्रमणले कम्युनिष्टको चरित्र उदाङगिएको बताउँदै सत्ता र शक्तिको उन्मादमा गुण्डागर्दी शैलीमा भएको घृणीत आक्रमणको भत्सर्ना गरेकी छिन् ।

कुनै पनि राजनीतिक दलले शाान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि ठाडो प्रहार भएको उनको आरोप छ ।

यस्ता अराजक घटना एवं अमानविय कार्य हुदाँ पनि सुरक्षा निकाय, स्थानीय प्रशाासन एवं सरकार मौन वस्नु अत्यन्त दुखद भएको उनले बताएकी छिन् ।

साथै उनले घाइतेहरुको शीघ्र स्वास्थय लाभको कामना गर्दै दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published.