अनलाईनमार्फत ठगी गर्ने २७७ चिनियाँ नागरिक फिलिपिन्सबाट पक्राउ

मनिला– अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा फिलिपिन्समा २७७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चीनमा ठगी धन्दा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै ठगी धन्दा चलाएको फिलिपिनी प्रहरीको भनाइ छ ।

अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु मनिलास्थित चिनियाँ राजदूतावासको सूचनाका आधारमा पक्राउ परेको पनि मोरेन्टेले बताए ।

चिनियाँ दूतावासका अनुसार पक्राउ परेका व्यक्तिहरुबाट चीनमा एक हजारभन्दा बढी व्यक्ति पीडित भएका छन् ।

मोरेन्टेद्वार शुक्रबार जारी विज्ञप्तिमा प्रारम्भमा छानबिनका लागि शंकास्पद चार जना चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिइएको उल्लेख छ । तर गैरकानुनी अनलाइन व्यवसाय सञ्चालन गरेको भेटिएपछि अरु थप २७३ जना पक्राउ परेको मोरेन्टेले उल्लेख गरेका छन् ।

चिनियाँ अधिकारीहरुका अनुसार चीनमा ठूलो मात्रामा ठगी धन्धामा संलग्न केही व्यक्तिले फिलिपिन्समा आश्रय लिएका छन् । उनीहरुको पासपोर्ट समेत चीनले रद्द गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.