५३ औं इतिल्हने सम्यक महादान आज र भाेली
फागुण १४ र १५ ललितपुरकाे नागबहालमा सम्यक महादान पर्व हुँदैछ । पाँच वर्षमा एकपटक हुने याे पर्व हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापन हुँदैछ । याे पर्व सात सय वर्षदेखि निरन्तर चल्दै आइरहेको छ ।
पर्वका आज पहिलो दिन राति काठमाडौं उपत्यकाका विभिन्न विहार र महाविहारबाट ल्याइएका १ सय २६ देवी देवताका मूर्तिलाई पाटन दरबार क्षेत्रमा राखिने छ । त्यसपछि दिपंकर बुद्ध, आर्यावलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा लगायत देवीदेवताहरुलाई परम्परागत बाजागाजाका साथ इतिहल्हने (नागबहालमा) लगिने छ ।
परम्परा अनुरुप आज बुधबार बेलुकी ७ बजेदेखि देवीदेवतालाई क्रमबद्ध राख्न शुरु गर्ने र १० बजे सम्यक महादान हुने मुख्य स्थान नागबहालमा लगिने छ ।
भोलि विहीबार महाविहारका २० ज्येष्ठ व्यक्ति (बीस स्थविर आजु) ले विशेष पुजाआजा गरी दान दिने परम्परा रहेको छ । यही दान दिने कार्य नै पर्वको मुख्य सार हाे ।
हरेक वर्ष सञ्चालन हुँदै आएकाे याे पर्व विसं १८६२ साल देखि भने पाँच वर्ष बिराएर सञ्चालन भएकाे हो । रणबहादुर शाहले गुठीको जग्गा सरकारी गर्न थालेपछि गुठीको आयस्ता कम भयो । यसले गर्दा पाँच वर्षको एकचोटी सो पर्व आयोजना गर्न थालिएको हो ।