कोरोनाविरुद्ध काठमाडौँ महानगरपालिकाले थाल्यो जनचेतना अभियान
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरी फैलिरहेका छ । सन्त्रास फैलिरहेका बेला काठमाडौँ महानगरपालिकाले बृहत जनचेतनामूलक कार्यक्रम गर्न लागेको छ । गत शुक्रबार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कोरोना र डेंगु रोगको महामारीसम्बन्धी बृहत जनचेतना कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ३२ वटै वडामा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी सन्त्रास फैलिएको उहाँले बताउनुभयो । सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नु पर्नेमा जोड दिनुभयो । कोरोनाकै सन्त्रासले कालोबजारी समेत बढ्न थालेको उहाँले दाबी गर्नुभयो । गर्मी सँगै डेंगेको महामारी बढ्न सक्ने हुनाले सचेत हुन आग्रह गर्नुभयो । महामारी फैलियो भने नियन्त्रण बाहिर पनि जान सक्छ । त्यसैले महामारी आउनै नदिन जनचेतनामुलक कार्यक्रम गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि सहरी स्वास्थ्य क्लीनिकले दिने सेवालाई थप विस्तार गर्दै थप सेवा दिने कुरामा महानगरपालिका लाग्नुपर्ने धारणा राख्नुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।
इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अहिलेसम्म ५ सय जनाको र्यालको नमुना परीक्षण गर्दा एकजनाको पोजेटिभ देखिएको र ती विरामीसमेत अहिले ठिक भएको भन्दै अहिले नै आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका र गर्भवतीमा बढी समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।
इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाशाखाकै डाक्टर प्रकाश शाहले गर्मी मौसममा डेंगेको महामारी फैलिन सक्ने भन्दै त्यसमा सजक हुन आग्रह गर्नुभयो ।