कोरोनाका कारण पहिलो नेपालीको मृत्यु
कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको वेलायतमा मृत्यु भएको पुष्टि भएको हो ।
संखुवासभा घर भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए । उनको मृत्यु गत चैत ४ मा लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो ।
लिलाबहादुर ब्रिटिस गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सन् २००८ मा वेलायत बसाई सरेका थिए । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।
मृत्युको कारण कोभिड १९ भएको जानकारी भने अस्पतालले गत शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।