कोरोना भाइरस देखिनुको दोष कसको ? अन्तिम उपाय लकडाउन लगाइने ।

प्रज्वल शाक्य

कोरोना भाइरसको संक्रमण नेपालमा दोस्रो पटक देखियो । फ्रान्सबाट नेपाल आएकी १९ वर्षकी विद्यार्थीलाई चैत ९ गते कोभिड १९ पोजितिभ भएपछि टेकु अस्पतालको आइसोलेसनमा चैत १० गते भर्ना गरियो । यसैबिच संक्रमितको परिवार, आफन्त र भेटघाट गरेका अन्यलाई क्वारेन्टाइनमा राख्न सरकार अघि सरेको छ । तर के यो ढिलो भएन र ? चैत ४ गते नेपाल फर्किएकी उनी चैत ६ गते आफ्ना भियतनामका साथी, जो संगै फ्रान्सबाट फर्किएका थिए, कोभिड १९ संक्रमणको शिकार भएको थाहा पाएसी टेकुमा परिक्षणका लागि गएकी थिइन । यस दौरान उनी घरमै क्वारान्टाइनमा बसेकी थिइन । अहिले उनी अस्पतालमा उपचार गराइरहेकी छिन । यसै दौरान नेपाललाई चैत ११ गते देखि लकडाउन गरिंदैछ । एक जना संक्रमित देखिना साथ सिंगै नेपाललाई लकडाउन गरिंदैछ । यो पक्का पनि थप संक्रमण हुन नदिन राम्रो काम हो । तर देशै लकडाउन गर्नु पर्ने स्थिति कसरी बन्यो ? यसको दोष कसले लिने ? विश्वभरि महामारीको संज्ञा पाएको कोभिड १९को संक्रमण नेपालमा पहिले नै देखिएको थियो । चीनको उहानबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नै सरकारले कडाइ गर्नु पर्ने थियो । तर त्यस व्यक्ति निको हुनु र थप अरु संक्रमण नदेखिनुले अवस्थालाई सामान्य रुपमा लिइयो । चीनको उहानबाट नेपालीहरुलाई उद्धार गरिएसी नेपाल कोरोनाको लागि तयार रहेको सन्देश पुगेको थियो । तर पछि सरकारले क्वारान्टाइन राख्न नसक्ने र आफै बस्नुपर्ने भन्दै लाचारी देखायो । यसै लाचारीको निस्कर्ष अहिलेको लकडाउन हो । विदेशबाट आएका केही मानिसलाई क्वारान्टाइन राख्न गरेका कन्जुस्याँइले अहिल ३ करोड नेपालीको भविष्यमा ग्रहण लागेको छ । विश्व महामारी हुना साथ उचित कदम चालेपनि नेपाल सरकारको निर्णय गलत साबित भयो । विदेशबाट आएका मानिसलाई अनिवार्य स्वक्वारान्टाइन बस्नुपर्ने निर्णय गरेतापनि उनीहरुको अनुगमन हुन सकेन । यसका लागि चीनबाट उद्धार गरिएको जस्तो ब्यवस्था गरिएको भए अहिले यो लकडाउन गर्नुपर्ने थिएन । यसैबिच स्वास्थ्य मन्त्रीले तडरुकता देखाउँदै कोरोना भाइरसको बिरामीलाई आफुहरुले हस्पितल पुर्याएको सगौरव प्रस्तुति दिए । केहि दिन पहिले घरमा पाहुना आएकोले कोरोनाको विषयमा बोल्न नसक्ने बताएका उनले कोरोना देखिएकी युवती चढेको हवाइजहानका यात्रीहरु खोजी क्वारान्टाइनमा राख्ने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published.