१७ वडामा ह्यान्ड वासका लागि चाइनिज संस्थाको सहयोग
१७ वडाभित्र विभिन्न स्थानमा ह्यान्ड वास स्टेशन संचालन गर्न दुइ चाइनिज संस्थाहरुले काठमाडौं महानगरपालिका १७ वडा कार्यालयलाई सहयोग प्रदान गरेको छ । चाइनाको सामाजिक संस्था चाइना फाउन्डेसन फर पभर्टि एल्लेभिएसन (सिएफपिए) र गुडविल फाउन्डेसनले वडा कार्यालयलाई ह्यान्ड वास स्टेशन संचालन गर्न पानी ट्याङ्कि र ह्यान्ड वास सहयोग प्रदान गरेको हो ।आज कामपा १७ वडा कार्यालयमा दुवै संस्थाका प्रतिनिधिले कामपा १७ वडा कार्यालयका वडाध्यक्ष नवीन मानन्धरलाई २ सय लिटरका २० वटा पानी ट्याङ्कि र ह्यान्ड वास हस्तान्तरण गरे ।क्षेत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठको पहलमा उक्त सहयोग प्रदान भएको हो ।सो अवसरमा वडाध्यक्ष मानन्धरले काठमाडौंको साँघुरो क्षेत्रमा रहेको घना वस्तीलाई स्वच्छ र स्वस्थ राख्न दिइएको यो सहयोगले आफुलाई ठुलो हौसला मिलेको बताउनुभयो ।वडा कार्यालयले आजै वडा कार्यालय प्राङ्गणमा, प्रहरी वृत्त धोबिचौर, ठमेल क्वाःबहाल लगायतका स्थानमा ह्यान्ड वास स्टेशन स्थापना गरिसकेको छ भने क्षेत्रपाटी थँहिति, नःघल, क्वाड्व, ढल्को, कुश्ले चौर लगायतका स्थानमा स्थापना गर्ने योजना रहेको मानन्धरले जानकारी दिनुभयो ।यसको साथै चाइनिज, अमेरीकन, यूरोपियन लगायतका पर्यटकहरुको बसोबास रहेको स्थानहरुमा पनि ह्यान्ड वास स्टेशन स्थापना गर्ने उनको भनाई थियो ।स्वास्थ्य सम्वन्धी सेवाको साथमा अस्पताल लगायतका स्वास्थ्य सेवाका भौतिक पूर्वाधारहरुको समेत निकै कमी रहेको नेपालमा अहिले संक्रमणको रोकथाम र नियन्त्रण नै महत्वपूर्ण कदम हुने सिएफपिएका नेपाल कन्ट्रि डाइरेक्टर चाउ ध्रु छियाङले बताउनुभयो ।समय समयमा साबुन पानीले हात धोइरहनाले पनि संक्रमणको रोकथाममा ठुलो सहयोग पुग्ने भएकोले जनचेतनाका लागि आफुहरुले यो सहयोग गरेको उहाँको भनाई थियो ।सो संस्थाले ललितपुरको मंगलबजार, सानेपा, किर्तिपुर, फर्पिङको साथमा जनकपुरमा पनि ह्यान्ड वास स्टेशन स्थापना गरिसकेको छ ।चाइनाकै ठुलो मानवीय संस्था सिएफपिए नेपालको पहिलो सक्रिय चाइनिज संस्था हो ।