र्यापिड टेष्टमा नेगेटिभ पीसीआर बिधिबाट पोजेटिभ, कोरोना संक्रमण नेपालमा १३ पुग्यो
र्यापिड टेष्टमा नेगेटिभ देखिएकी महिलामा पीसीआर बिधिबाट परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । कैलाली, लम्किचुहाकी उक्त ६५ वर्षीया महिला नेगेटिभ देखिएपछि घर फर्किएकी थिइन ।
वीरगञ्ज नाकामा चिया बेच्ने उनी सहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए । सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको लम्किचुहाका मेयर महादेव बजगाईंले बताएका छन् । तर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइएको थियो । तर अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।
कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो । यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।