जोखिमपुर्ण इमर्जेन्सी, ओपिडिबाटै संक्रमणको डर

प्रज्वल शाक्य

आजभोली कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापि संक्रमणको संख्या हेर्ने हो भने यो महामारी तुरुन्त साम्य हुने कुनै छाँटकाँट छैन । अति विकसित देश अमेरिका, फ्रान्स, बेलायत, स्पेन, जर्मनी, चीन जस्ता देशहरुले यो महामारीलाई जित्न सकिरहेका छैनन् । चीनबाट सुरु भएको यो महामारी अहिले भारतमा समेत भयंकर रुप लिंदै छ । यो नेपालको लागि खतराको घण्टी हुन सक्छ । चीनमा बिस्तारै सुस्त हुँदै गरेको कोरोना संक्रमण नेपालमा पहिलो पटक चीनबाटै आएका विद्यार्थीमा देखिएको थियो । तर त्यसपछि भने चीनबाट यो रोग आयात भएको देखिएन । पछिल्लो संख्या हेर्दा भारतबाट आएका रोगीहरुको चाप बढि छ । यो संख्या पक्का पनि बढ्ने देखिन्छ । परिक्षणको दायरा बढाउनु र कोरोना संक्रमितको पहिचान गर्नु अहिलेको चुनौति हो ।

दोस्रो विश्वयुद्ध पछिको ठुलो मानव संकतको रुपमा लिइएको यस महामारीको लागि नेपालको तयारी कति सन्तोशजनक छ ? यसको उत्तर यस युद्धमा पहिलो पंक्तिका लडाकु चिकित्सकहरु बाहेक कसले दिन सक्छन् ? कोरोनाको डर कोरोना पिडितहरु मात्र नभएर संसारमा सृजना भएका सबै रोगका रोगीहरुलाई उत्तिकै छ । यस संक्रमण कालमा कोरोनाका रोगी मात्र अस्पताल आउने पक्का पनि होइन । रोगहरुमा सबैभन्दा आकस्मिक रुपमा सेवा चाहिने मुटु रोगीलाई हुनु पर्छ । मुटुमा समस्या भएर अस्पताल जाने समयमा त्यस रोगीमा कोरोना संक्रमण भएमा ? अरु रोग लागेर अस्पताल जानुपरेमा ? के कोरोना संक्रमणको खतरा हुँदैन ?

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्दियो थोरासिस भ्यास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर (टिचिंग अस्पताल)का मुटुरोग चिकित्सकहरुसँग गरिएको कुराकानीले नेपाल कोरोनाको लागि तयार नभएको देखियो । कोरोनाको डरले अस्पताल आउनेको संख्या सुन्य प्राय भएको मनमोहन अस्पतालका मुटुरोग चिकित्सकको भनाइ छ । त्यसैगरि दैनिक ४०० को दरले मुटुरोगीहरुको चाप हुने गंगालाल अस्पतालमा आजभोली तीन चार जना मात्र बिरामी आउने गरेको खुलासा भएको छ । कोरोनाको कारण कसरी मुटुरोगी कम हुन्छन ? यसको जवाफ दुबै चिकित्सकको एउटै रह्यो, फोन काउन्सिलिंग । अति आवश्यक नभइकन आफ्ना बिरामीलाई अस्पताल नजान उहाँहरुले सुझाव दिएका छन । चाहिने सेवा फोनबाटै दिँदै आएका छन् ।

रोग लागेपछि सबैभन्दा पहिले चिकित्सकको परामर्श लिन ओपिडि जानुपर्छ । तर आजभोली यी दुबै अस्पतालमा ओपिडि सेवा ठप्प छ । केही भएमा जाने भनेको इमर्जेन्सी नै हो । ओपिडि सेवा बन्द गर्नु पर्ने कारणमा गंगालालका हृदय रोग चिकित्सकले डाक्टर आफै कोरोना रोगको क्यारियर हुने सम्भावना भएकोले ओपिडि बन्द गर्नु उपयुक्त रहेको बताउनु हुन्छ । गंगालालमा मास्कको समेत अभाव रहेको उहाँको भनाइ छ । सर्जिकल मास्क नै अभाव भैरहेको अवस्थामा अस्पतालमा यदि कोही कोरोना संक्रमित रोगी आएमा त्यस रोगीले डाक्टरलाई समेत संक्रमित बनाइ उसै डाक्टरबाट ओपिडिमा आएका सबै रोगीलाई समेत कोरोना संक्रमण हुन सक्ने सम्भावनाका कारण अस्पतालहरुमा ओपिडि सेवा बन्द गर्नुपर्ने बताउनु भयो ।

सर्जिकल मास्क उपलब्ध भएपनि एन९५ भने नरहेको र पिपिइको व्यवस्था झनै नरहेको अवस्थामा पनि इमर्जेन्सी सेवा भने दिइएको मनमोहन अस्पतालका चिकित्सकको भनाइ रहेको छ । डाक्टर मात्र नभइ रोगीहरु समेत जोखिमपुर्ण हुने उहाँको भनाइ छ । आफुहरु जोखिमा रहेपनि सावधानीका साथ बिरामीहरुको उपचारमा संलग्न रहेको खुलासा उहाँले गर्नुभयो । अनलाइन सेवाको विस्तार अस्पतालमा भएतापनि त्यसको लोकप्रियता नभएर बिरामीहरुले अनलाइन सेवाको सदुपयोग नगरेको दुखेसो मनमोहन अस्पतालका चिकित्सकले राख्नुभयो । सामान्य ओटि ड्रेस लाएर इमर्जेन्सीका बिरामीहरु हेर्नु, त्यो पनि आजकाल कोरोना पिडितको संख्या बढेको समयमा, कतिको जोखिमपुर्ण छ ? यसमा सरकारले कहिले बिचार गर्ने ? नेपालमा महामारी नहोस भन्न कहिले व्यवस्था गर्ने ? व्यवस्थित नभए संक्रमण अस्पतालबाटै फैलिन सक्छ । बिरामीको ज्यान समेत जान सक्छ । कोरोना संक्रमणले सबै अस्पताललाई नै समस्यामा पारेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published.