कोभिडले अमेरिकामा लगभग ३३ हजारको मृत्यु, यसै महिना लकडाउन हटाउने ट्रम्पको निति
कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा २४ घण्टामा २१७४ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा कोरोनाले मर्नेको संख्या ३२ हजार ८ सय ६८ पुगेको छ । न्यूयोर्कमा मात्रै ११ हजार ४ सय ७७ को मृत्यु भएको छ ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ ।
यस दौरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् । राज्यका गभर्नरहरुका लागि एक निर्दे्शिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन् ।
राष्ट्रपति ट्रम्पले केही राज्यहरुमा यसै महिनादेखि लकडाउन हटाउन सक्ने बताएका छन् । ‘अमेरिका खुला हुन चाहन्छ र अमेरिकन खुला हुन चाहन्छन्, देश बन्द राख्नु दिगो समाधान होइन ।’ ट्रम्पले बताए ।
यस महिनाको अन्तसम्ममा अमेरिकामा बेरोजगारीको दर २० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । लकडाउनले लागूऔषध दुव्र्यसनी, मदिरा प्रयोग, मुटुका बिरामी र अरु शारीरिक र मानसिक समस्या बढ्न थालेको छ ।
स्वस्थ नागरिकले निश्चित नियम पालना गरेर काममा फर्किने प्रस्ताव गरिएको छ । स्वस्थ व्यक्तिले सामाजिक दूरी कायम राखेर काममा सहभागी हुने र अस्वस्थ भए घरमै राख्ने ट्रम्पको रणनीति छ ।
उता गभर्नरहरुले लकडाउन नखोल्ने जनाएका छन् । ट्रम्प राष्ट्रपति मात्र भएको र राजा सरह उनको सम्पुर्ण निर्देशन पालना गर्न नपर्ने न्यूयोर्कका गभर्नर एंड्रयू कुओमोले बताएका छन् ।