नेकपा सचिवालय वैठक : वामदेव गौतम प्रधानमन्त्रीमा र माधवकुमार नेपाल तेस्रा अध्यक्षमा प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बसेको पार्टी सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्नु भएको छ । त्यस्तै माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राख्नु भएको छ ।

पार्टि भित्र र बाहिर धेरै आलोचना भएको समयमा प्रधानमन्त्री र नेकपा अध्यक्ष पद छोड्न दबाब आएका बेला प्रम ओलीले नेकपा सचिवालय वैठकमा यस्तो प्रस्ताव राख्दै सबैलाई चकित पारेका हुन् । आफूविरूद्ध एकजुट भएका सचिवालयका बहुसंख्यक सदस्यलाई विभाजित गर्ने मनसाय र आसन्न संकट टार्ने अपेक्षाका साथ प्रधानमन्त्री ओलीले यो प्रस्ताव ल्याएका हुन् । नौ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् ।

वैठकमा पुर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली आफै पार्टी एकताविरोधी गतिविधिमा लागेको, आफ्ना मानिसहरूको भेला गराउँदै हिँडेको र आवश्यक परे पार्टी फुटाउने नियतका साथ काम गरेको आरोप लगाए। ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आफ्नै पार्टी फुटाउने नियतका साथ आएको प्रचण्डले आरोप लगाए । त्यस्तै, संवैधानिक परिषद ऐन संशोधन गर्ने अध्यादेश ल्याएर सत्ता कब्जा गर्न खोजेको उनले बताए । प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको पदबाट राजिनामा मागेका थिए ।

यसैको जवाफमा आफ्ना प्रस्ताव राखेका थिए । कोरोना महामारीको समस्या सकिएपछि अनुकूल समयमा आफूले राजिनामा दिने उनले बताए । त्यस्तै गौतमलाई प्रम बनाउन राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गरेर वा कुनै निर्वाचन क्षेत्र खाली गरी जिताएर प्रधानमन्त्री बनाउने प्रस्ताव पेश गरे ।

उता वरिष्ठ नेता झलनाथ खनालले समस्या समाधानका लागि स्थायी समिति बैठक बोलाउन माग गरे । माधव नेपालले प्रधानमन्त्री ओलीमा अहंकार धेरै भएको बताए । उनले राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरे ।

त्यसपछि बोल्दै वामदेव गौतमले आफुलाई सपनाजस्तो लागेको बताउनुभयो । प्रधानमन्त्रीको प्रस्ताव समर्थन गर्दै स्थायी समिति बैठक बोलाउन आवश्यक नरहेको र सचिवालय बैठकले नै यसबारे निर्णय गर्न प्रस्ताव राखे ।

गृहमन्त्री रामबहादुर थापाले भने प्रधानमन्त्रीले राजीनामा दिने कुरा र वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दुवै ठिक नभएको बताए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र सचिवालय सदस्य विष्णु पौडेलले ओलीको प्रस्ताव ठिक भएको धारणा राखे ।

नारायणकाजी श्रेष्ठले स्थायी समितिको बैठक बोलाउन माग राखे । सचिवालय बैठक वैशाख २० गते फेरि बस्ने श्रेष्ठले बताएका छन्।

Leave a Reply

Your email address will not be published.