बुद्ध जयन्तीका कार्यक्रम स्थगित, घरमै मनाउन आग्रह

लुम्बिनीमा हुने तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । लुम्बिनी विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै वैशाख २५ को २५६४ औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको छ ।

लकडाउनका कारण हजारौं संख्यामा मानिस भेला भई कार्यक्रम आयोजना गर्ने अवस्था नभएको कोषले जनाएको छ । बुद्ध जयन्ती र अन्तराष्ट्रिय बौद्ध सम्मेलनका लागि कोषले ४ करोड रुपैयाँ बजेट माग गरेकामा एक करोड रुपैयाँ वार्षिक कार्यक्रम अन्तर्गत स्वीकृत भइसकेको थियो ।

लुम्बिनीस्थित विहार, मोनास्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा बिहान पूजाआजा गरि बुद्ध जयन्ती मनाइने लुम्बिनी विकास कोषले बताएको छ । सामाजिक दुरी कायम गरीे २५ सय ६४ वटा दीप प्रज्वलनको कार्यक्रम पनि राखिएको छ ।

कोषले बौद्धमार्गीलाई आआफ्नो स्थानमा सुरक्षित रही प्रार्थना एवं पाठपूजा गरी बुद्धजयन्ती मनाउन अपिल गरेको छ। हरेक वर्षको बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा कम्तीमा दश हजार जनाको जमघट हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published.