कच्चा वैद्यको मात्रा यमलोकको यात्रा, न्यूरोडमा मानिसमै डिसइन्फेक्टेन्ट
संसारमा कतै नगरिएको काम नेपालमा गरिएको छ । ज्ञानको कमिले हानिकारक विषादी मानिसमै छर्र्किएको दृश्य काठमाडौंको गल्लीहरुमा देखियो ।
कोरोनाभाइरसबाट जोगाउने ठानेर यसरी मानिसको शरीरमै डिसइन्फेक्सन गर्न थालेको देखिएको छ । यही दृश्य आइतबार काठमाडौंको न्युरोडमा पनि देखियो । सडकका दुईतिर बसेर स्वयंसेवकले मानिसहरूलाई स्प्रे गर्दै थिए ।
विशेषज्ञहरूले यसरी शरीरलाई डिसइन्फेक्टेन्ट छर्किंदा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने बताएका छन् । डिसइन्फेक्सनले भाइरस नमार्ने तर स्वास्थ्यमा भने समस्या ल्याउने भन्दै यो कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
स्प्रे गर्दा एलर्जी, आँखा र श्वासप्रश्वासमै समस्या सिर्जना हुने विशेषज्ञको भनाइ छ । सासबाट केमिकल शरीरभित्र छिरेर दमको समस्या हुन सक्ने विशेषज्ञको भनाइ छ । सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भाइरस मार्छ भन्ने भ्रममा शरिरलाई नै डिसइन्फेक्सन गर्नु व्यवहारिक नभएको तर्क गर्नुभएको छ ।
डिसइन्फेक्सन धेरै मानिसको आवतजावत हुने अस्पताल, बैंकमा गर्नुपर्ने र सडकमा गर्नुको तुक नरहेको उहाँले बताउनुभएको छ । भाइरसबाट बच्न साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै उत्तम रहेकोमा उहाँले जोड दिनुभएको छ ।