डिसेम्बर २७ मै फ्रान्समा देखिएको थियो कोभिड १९
कोभिड १९ युरोपमा सन् २०१९ को २७ डिसेम्बर अघि नै पुगेको फ्रान्सका चिकित्सकको दाबी छ । फ्रान्सका एक चिकित्सकले त्यस दिन स्वास्थ्य परीक्षण गरिएका एक निमोनिया संक्रमित बिरामीको नमुना अहिले परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको दाबी गरेका छन् । उनको दाबीका आधारमा कोरोना संक्रमण एक महिनाअघि नै युरोपमा पुगेको हुनसक्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।
मंगलबार जेनेभामा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिश्चियन लिन्डेमयरले उक्त समाचारबाट आफु ‘अचम्मित नभएको’ बताए । उनले अरु देशहरुलाई पनि उपलब्ध पुराना नमुनाहरुलाई परीक्षण गर्न अपिल गरेका छन् । खासगरी विश्वका सबै मुलुकहरुले सन् २०१९ नोभेम्बर र डिसेम्बरमा लिइएका स्वास्थ्य परीक्षण नमुनाहरुको पुनः परीक्षण गर्न आग्रह गर्दै यसले कोरोना महामारीविरुद्ध एक स्पष्ट साझेदारी विकास गर्न मद्धत पुग्ने दाबी समेत उनले गरेको बिबिसीले उदृत गरेको छ ।