लकडाउनमा सरकारी गाडीबाटै मलङ्गवाबाट काठमाडौं
विराजकाजी राजाेपाध्याय
२०७७ वैशाख २४ बुधबार
काठमाडौं/सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात मलङ्गवाबाट एक परिवार सरकारी गाडीबाटै काठमाडौं आइपुगेका छन् ।
एक महिला आफ्नी छोरी र छोरासँग सरकारी गाडीमा आज विहान मात्र काठमाडौं आइपुगेको हो । ती महिलाका श्रीमान भने काठमाडाैं मै बस्दै अाइरहेका थिए ।
उनीहरु सरकारी गाडीमै बसेर काठमाडौं आइपुगेका हुन् । बा २ झ २४१३ नम्बरको सरकारी गाडीबाट उनीहरु काठमाडौं आएका हुन् ।
मलङ्गवाबाट काठमाडौं आएका उनीहरु शुरुमा काठमाडौं २३ वडा ओमबहाल पुगेका थिए ।
ओमबहालकाे डेरामा बस्न आएका उनीहरुलाई त्यहाँका स्थानीयले बस्न नदिने भनी विरोधमा उत्रिएपछि उनीहरु फेरी २२ वडा वटुमा आइपुगेका छन् ।
वटु टोलमा स्थानीय पनि विरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको लागि लगिएको थियो ।
उनीहरुको आरडिटि परिक्षणमा रिपोर्ट नेगेटिभ आएको कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले जानकारी दिनुभयो ।
पिसिआर विधिबाट गरिएको परिक्षणको रिपोर्ट आउन भने बाँकि रहेको बताइएको छ ।
आरडिटि परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बाहिर नआइ पूर्ण रुपमा होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई वटुमै बस्न दिइएको छ ।
उता जोखिम बढेकोले नै नाता परेका मान्छेको सरकारी गाडीबाट आफु काठमाडौं आएको उक्त महिलाले बताए ।
उनीहरु अहिले बसेको ठाउँ कामपा २५ वडासँग पनि जोडिएको छ ।
‘लकडाउनमा सरकारी गाडीको दुरुपयोग भयो’
काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष नीलकाजी शाक्यले लकडाउनको समयमा सरकारी गाडीको दुरुपयोग भएको बताउनुभएको छ ।
जो जहाँ छ, त्यहिँ सुरक्षित रहनुपर्ने र हरेक स्थानीय होम क्वारेन्टाइनमा बसिरहेको अवस्थामा सरकारी गाडीले यसरी मान्छे ओसार्नु निकै आपत्तीजनक रहेको शाक्यकाे भनाई हो ।
अत्यावश्यक काममा बाहेक आवतजावत गर्न नहुने अवस्थामा सरकारी गाडीले नै एक ठाउँमा जोखिम बढेको भन्दै अर्को ठाउँमा मान्छे ओसार्नु भनेको पदको दुरुपयोग भएको भन्दै आवश्यक अनुसन्धान गरी कारवाही गर्न वडाध्यक्ष शाक्यले आग्रह गर्नुभयाे ।
अहिले आवतजावत पूर्ण रुपमा बन्द गर्न सबैले भूमिका खेल्नुपर्ने अवस्थामा सरकारी गाडीबाट मान्छे ओसार्ने काममा कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले पनि आपत्ती जनाउनुभयो ।
‘अहिले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, एक जिल्लाबाट अर्को जिल्लामा वा एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत नै गर्न नहुने अवस्था हो ।
सरकारी गाडीले नै मलङ्गवाबाट काठमाडौं ल्याएको विषयमा कामपा मेयर विद्यासुन्दर शाक्यलाई जानकारी गराईसकेको छु’ महर्जनले बताउनुभयो ।
यो विषयमा आवश्यक अनुसन्धान गरिनुपर्ने महर्जनको पनि माग हो ।
यो घटनामा २२ वडाका अध्यक्ष चिनिकाजी महर्जनले पनि आपत्ती जनाउनुभएको छ ।
‘राज्य भनेको अभिभावक हो । यस्तो अवस्थामा राज्यले अभिभावकिय भूमिका निभाउनु आवश्यक छ’, वडाध्यक्ष महर्जनले भन्नुभयो ।
सरकारी गाडीबाट मान्छे काठमाडौं ल्याइनु विलकुलै गलत रहेको र यसमा आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही गर्न महर्जनले माग गर्नुभयो ।
फाेटाेःः बुद्ध शरण