४ दिन अघि नेपाल आएका २ संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो
भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेका दुई जनामा हिजो बिहिबार राति कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुुको मायादेवी गाउँपालिका ८ विजुवाका १६ र २२ वर्षका उनीहरु वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताएका छन् ।
लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थदेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए । अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरी प्रमुख जबराले बताएका छन् ।
कपिलवस्तुका संक्रमित दुई युवालाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसन बेडमा लैजाने तयारी भइरहेको उनले बताए । उनीहरूको यात्रा विवरण र सम्पर्कमा रहेका व्यक्ति पहिचान गर्न आज देखि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए । कपिलवस्तुका दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २३ पुगेको छ ।