टेष्टिङको दायरा बढाइयो, अब कोरोनाको पुल टेष्टिङ गरिने
कोरोना भाइरस (कोभिड–१९) परीक्षण पुल टेष्टिङबाट गर्ने सरकारले निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पुल टेष्टिङ गर्न निर्देशन पठाइ सकेको छ ।
अब थोरै रिएजेन्टले पनि धेरै संख्यामा परीक्षण गर्न सकिनेछ । पिसिआर विधिमै पुल टेष्टिङ गर्न लागिएको हो । अहिले एक व्यक्तिको स्वाबलाई अलग अलग टेष्ट गरिंदै आइएको छ । तर पुल टेष्टिङमा एकभन्दा बढी मानिसको स्वाबलाई एकै ठाउँमा राखेर टेष्टिङ गरिनेछ । स्वाब नाक र घाँटीको जम्मा गरिनेछ ।
रिपोर्ट नेगेटिभ आएमा सबै मानिस कोरोनाबाट संक्रमित नभएको पुष्टि हुन्छ । तर पोजेटिभ आएमा संकलित स्वाबबाटै पुन व्यक्तिगत परीक्षण गरिन्छ ।
पीसीआर टेष्ट गर्ने किटको अभाव हुन थालेपछि अर्नहार्ड सेइफ्राइडको नेतृत्वमा जर्मनीको रेड क्रस ब्लड डोनर सर्भिस र युनिभर्सिटी हस्पिटलको इन्स्टिच्युट फर मेडिकल भाइरोलोजीका अनुसन्धानकर्ताले कोरोना परीक्षणमा पुल टेष्टिङ विधिबारे अध्ययन गरेका थिए । हेल्थकेयर इन युरोप डटकमका अनुसार जर्मनीमा यो विधिको प्रयोग गरी दैनिक चार लाखसम्म मानिसमा कोरोना परीक्षण गरिएको थियो ।
नेपालमा पनि पुल टेष्टिङ गरि कम खर्चमा धेरै टेष्टिङ गर्न सकिनेछ । यसको अत्यधिक कार्यान्वयनले भोलीबाट राम्रो नतिजा दिनेमा शंका छैन ।