तथागत बुद्ध
सुधीर ख्वबि
थुक्क काठमाडौ साला काठमाडौ खत्तम छ काठमाडौ काठमाडौको छातिमा टेकेर केही खलपात्रहरू आफैले थुकेका थुक चाटेर विष वमन गरिरहेका छन्।
काठमाडौ यतिखेर महादान गर्दैछ भोका पेटहरुका लागि तर अपसोच भरिएपछी ती भोका पेटहरुले नै सहिष्णुतालाई लात हानेर मानवियता जिर्ण बनाएर सदभावनाको खिल्ली उडाईरहेका छन् ।
काठमाडौ यतिखेर आफ्नो छानोमा बर्साइन थालेको अराजक ढुंगा खेपेर बसेको छ र केही किस्नेहरु पानी धमिलो पार्ने कुचेष्टामा लीन भएर माछा मार्ने लोभमा आफै नांगिएर टेलिभिजनको पर्दामा आफ्नो दुर्नियतको नाटक देखाइरहेको छ ।
काठमाडौ झरिमा ओत दिन्छ भोकप्यासमा तृप्ति दिन्छ आँगमा इज्जत दिन्छ बदलामा गाली खान्छ र, गाली खाएर पनि स्वागत गरिरहन्छ तथाकथित कविहरुलाई विद्यानष्ट विद्वानहरुलाई अराजक भीडहरुलाई अवसरवादी सोचहरुलाई ।
तर नबुझेको कुरो यति गाली खाएर पनि यतिका लाँछना खपेर पनि काठमाडौ कसरी शान्त छ ? काठमाडौं किन संयमित छ ?
ती विषालु सोचहरुलाई के थाहा ती अराजक मनहरुलाई के थाहा ती निकृष्ट स्वार्थभावहरुलाई के थाहा काठमाडौ हुन त हलाहल पियर शिव हुनुपर्छ सभ्य हुनुपर्छ, शालीन हुनुपर्छ मानविय हुनुपर्छ, तथागत हुनुपर्छ, बुद्ध हुनुपर्छ ।