बिरामीको चापले चिकित्सक त्रसित, कोरोनाको जोखिम भयावह

प्रज्वल शाक्य

लकडाउन खुकुल्याउने बित्तिकै अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ । लकडाउन कडा हुँदा अत्यावश्यक, अझ आकस्मिक नभइ अस्पताल नआउन चिकित्सकको निर्देशन अनुरुप अस्पताल धाउने बिरामी शुन्य प्राय भएको थियो । संसारमा कोरोनाको बिगबिगी र नेपालमा समेत उल्लेख्य मात्रामा कोभिडका बिरामीहरुको संख्याले नेपाल जोखिम मै रहेको देखाउँछ । तर लकडाउन खुकुल्याउने भन्दैमा बिना कुनै व्यवस्था ओपिडिमा बिरामीको चाप बढेकोले त्रसित भएका छन चिकित्सकहरु ।

बिरामी अस्पताल छिर्न अघि केहि नियम अपनाउनु पर्ने व्यवस्था भने गरिएको छ । उपत्यकाका अस्पताल भित्र जानु अघि त्यस बिरामीको तापक्रम जाँच गरिन्छ र हात स्यानिटाइज । कोहि व्यक्तिमा ज्वरो देखिए, ज्वरो शिविरमा पठाइ आरडिटि परिक्षण गरिने व्यवस्था मिलाइएको छ । तर अहिले आरडिटिको नतिजाको भरोसा गर्न सकिने समय होइन । यसले गर्दा पनि कोरोना भएका बिरामी उम्कने सम्भावना हुन्छ र पुरै अस्पतालका बिरामी, चिकित्सक र कर्मचारीलाई जोखिम सृजना गर्न सक्छ ।

चिकित्सकका लागि अहिले कोरोनाबाट बच्न मास्क, चस्मा, गाउन र पञ्जाको व्यवस्था गरिएको छ । जुन सामान्य विरामीका लागि पनि व्यवस्था हुने गरेको छ । अहिलेको यस असमञ्जस परिस्थितिमा हरेक बिरामीलाई कोरोना संक्रमितको शंकामा सेवा प्रदान गर्नु पर्ने हुन सक्छ । तर त्यसको व्यवस्था सायदै भएको होला । एक बिरामीको सेवा पछि प्रयोगमा आएका सम्पुर्ण सुरक्षा सामाग्री स्यानिटाइज गरिनु पर्छ । पिपिइ, पञ्जा, फेरिनु पर्छ । तर त्यसको व्यवस्था भएको देखिँदैन । एकै पिपिइ प्रयोग गरि सबै बिरामी जाँच्नु पर्ने बाध्यता हरेक चिकित्सकको रहेको छ । नर्सले पनि बिरामीको रक्तचाप लिँदा पिपिइ प्रयोग गर्नुपर्छ । तर एक बिरामी पछि पिपिइ परिवर्तन गर्नु पर्ने नियम नेपालमा लागु भइसकेको अवस्था छैन ।

अहिले नै लकडाउन खुकुलो भयो भनि हर्ष गर्न नहुने चिकित्सकको राय छ । लुकिचोरी एक ठाउँबाट अर्कोमा जाने, सीमा पार गर्ने र प्रहरीलाई छारो हाली टोल, गाँउ, शहर पस्नेहरुको लर्को लागि रहेको छ । कोरोना रोग हो कि अपराध हो । यसरी लुकि लुकि बस्ने देखेर चिकित्सक मात्र नभइ प्रहरी प्रशासन पनि ताजुब मान्दै छन् ।

बिरामीको नाटक गरि एम्बुलेन्समा देशको राजधानी पस्ने जमात जस्तै सच्चा बिरामीपनि खतराको घण्टी हो । नेपालका कुनाकाप्चामा उपचार हुन नसकेका बिरामीलाई काठमाडौंमै रिफर गरिने गर्छ । मुटु रोगका लागि कपिलवस्तु, बुटवलमा गौतम बुद्ध अस्पताल, भैरहवामा युसिएमएस, क्रिमसन अस्पतालको सुविधा पर्याप्त छ । नेपालगञ्जमा मेडिकल कलेज छँदैछ । बिरातनगरमा नोवेल अस्पताल रहेको छ । सरकारी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य शिविरहरुले दिन नसकेको सुविधा यी अस्पतालले दिन सक्छन । काठमाडौंमै आउनु पर्ने बिरामीहरुलाई त्यसै क्षेत्रका अस्पतालले उपचार गर्ने हो भने कोरोना संक्रमणको जोखिम न्युनिकरण हुन सक्छ ।

तर सरकार अझै पनि स्वास्थ्य क्षेत्रमा लाचार रहेको चिकित्सकहरुकै दुखेसो छ । यस्ता जटिल बिरामीहरुको संख्या बृद्धि हुँदो हो वा बिरामीको अवस्था नाजुक हुँदै थप उपचार गर्नु पर्ने अवस्था सृजना भएमा काठमाडौंको बिकल्प छैन । यसले गर्दा तराईका क्षेत्रमा बिगबिगी बढिरहेको कोरोना संक्रमितले देशैभरि यो रोगलाई सार्न सक्छन । कोरोना नदेखिएका वा कोरोना नभएका उपत्यका जस्ता क्षेत्रलाई सुरक्षित गर्न र कोरोना देखिएका क्षेत्रलाई शिल गर्न सरकारले तदारुकता नदेखाउने हो भने र त्यहि क्षेत्रमा व्यवस्थित नगर्ने हो भने, युरोप, अमेरिकाको हविगत नेपालले भोग्न समय लाग्दैन । र त्यो भोगाइ नेपालको तयारी हेर्दा भयावह हुन सक्छ ।

Leave a Reply

Your email address will not be published.