शिक्षण अस्पतालमा बच्चा जन्माएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, अस्पताल भन्छ कोरोना पोजिटिभ, प्रजिअ भन्छन् पुष्टि भएको छैन

बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । २९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । शिक्षण अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या भएपछि धुलिखेल लगिएको थियो । उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था गम्भिर थियो । भेन्टिलेटरमा राख्दा पनि उनको मृत्यु भएको थियो ।

शंकास्पद देखिएकाले उनको स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जनाएका छन् । अस्पतालमा उच्च सतर्कता अपनाइदै ५ सय मिटरको दुरीसम्म प्रवेश निषेध गरिएको छ । थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएको छ ।

उता जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने संक्रमणको पुष्टी भइनसकेको र रिपोर्ट आएपछि सोही अनुसार निर्णय लिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.