आरडिटिले अस्पतालै खतरामा, आरडिटि नेगेटिभ देखाएको बिरामीमै कोरोना संक्रमण

शुक्रबार राती स्वास्थ्य मन्त्रालयले मकवानपुरकी ५४ वर्षीया महिलामा कोरोना पुष्टि गरेको थियो । ती महिला काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेको खुलेको छ । टिचिंग अस्पतालको मुटुरोग शाखा यस सेन्टरलाई सील गर्ने विषयमा भने अझै निर्णय भएको छैन ।

सेन्टरका कोभिड १९ म्यानेजमेन्ट टिमका अनुसार मुटुको समस्या रहेकी महिला गत आइतबार अस्पताल भर्ना भएकी थिइन । सुरूमा र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिएको र पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । बिरामीमा कोरोना पोजिटिभ देखिएपछि चिकित्सक र कर्मचारी आइसोलेसनमा बस्न बाध्य भएका छन् ।

उनलाई गंगालाल अस्पतालबाट मनमोहन भास्कुलर सेन्टरमा ’रिफर’ गरिएको थियो । उनको स्वास्थ्यमा क्रमशः सुधार भएको भन्दै बिरामीलाई आइसियूमा सार्ने तयारी रहेको बताइएको छ । यसअघि बिरामीको मुटुको धड्कन पनि कम र रक्तचाप पनि कम रहेको थियो ।

यस अघि, टिचिंगमै उपचाररत बालक, कर्मचारी र न्यूरो बिरामी कुरुवामा कोरोना पोजिटिभ देखिएको थियो । त्यस्तै टिचिंगमै सुत्केरी भएकी महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । कोरोना संक्रमण कसरी भयो भन्ने अन्यौल रहेका बेला, अस्पतालले चिकित्सक, बिरामी र कर्मचारीको पूर्णरुपमा पिसिआर टेष्ट गरेको छैन । यसरी आरडिटि टेष्टको भर पर्दा अस्पतालमै कोरोना संक्रमण बढ्ने खतरा बढेको छ ।

Leave a Reply

Your email address will not be published.