इजरायलका लागि नेपाली राजदुत डा.अञ्जान शाक्यको पहलमा दुई देशको चेम्बर अफ कमर्सबिच सहकार्य
इजरायल स्थित नेपाली राजदूत डा. अन्जान शाक्यको समन्वयमा नेपाल इजरायल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज (एनआईसीसीआई) र इजरायल एशिया चेम्बर अफ कमर्स (आईएसीसी) बीच सहकार्यको सम्झौता भएको छ । सम्झौतामा एनआईसीसीआईको तफबाट अध्यक्ष शिशिर भट्ट र आईएसीसी तर्फबाट उपाध्यक्ष अनात बर्नस्टेन रेचले हस्ताक्षर गरेका छन ।
इजरायल एशिया चेम्बर अफ कमर्स अन्तर्गत इजरायल नेपाल चेम्बर अफ कमर्सको अध्यक्षता अनात बर्नस्टेन रेचले गर्नेछन् । एनआईसीसीआई र आईएसीसी बीच लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधिको हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार लगायतका विभिन्न आर्थिक सहकार्य बृद्धि गर्न सम्झौता भएको हो ।
सो अवसरमा राजदूत शाक्यले दुई संस्था बीच सम्पन्न सम्झौताका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आर्थिक विकासमा सहकार्य गर्न अझ सहज भएको बताइन् । सो अवसरमा राजदूत शाक्यले नेपाल र इजरायलका महिला उद्यमीको सशक्तीकरणमा काम गर्नुपर्ने कुरामा समेत जोड दिइन् ।
नेपाल इजरायल चेम्बर अफ कमर्सका अध्यक्ष शिशिर भट्टले यो सम्झौताले दुई देशको यातायात, कृषि, पूर्वाधार, जलविद्युत, शिक्षा लगायतका क्षेत्रमा द्विपक्षीय सहयोग आदान प्रदान हुने बताए । इजरायलले नेपालको कृषि क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग गरेको बताए ।
सो अवसरमा इजरायल एशिया चेम्बर अफ कमर्सका अध्यक्ष माथन भिलनाइले दुई संस्था बीच भएको सम्झौताले एक अर्काको सहयोगका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
इजरायल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अनात बर्नस्टेन रेचले नेपालको वित्तीय क्षेत्रमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।
सो अवसरमा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले २ संस्था बीच भएको सम्झौतामा खुशी व्यक्त गदै नेपाल र इजरायलको आर्थिक विकासमा थप सहयोग आदान प्रदान हुने बताए । भर्चुअल सम्वाद बाटै सम्झौतालाई मुर्तरुप दिइएको थियो ।