इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित गरिएको छ । ‘द एम्बेसडर क्लब अफ इजरायल’ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली राजदूत डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ घोषणा गरेको हो ।

९० वटा देशका राजदुतहरुलाई पछि पार्दै सो सम्मानबाट राजदूत डाक्टर शाक्य सम्मानित हुनुभएको हो । ९० वटै देशका राजदूतले डा.शाक्यको पक्षमा मत जाहेर गरेका थिए । डा.शाक्य यो सम्मानबाट सम्मानिन हुने एसियाली मुलुककै पहिलो राजदूत बन्न सफल हुनुभएको छ । यो सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रुपमा लिएको राजदूत डा. शाक्यले बताउनुभयो ।

यो सम्मानले नेपाल र नेपालीको शीर उच्च बनाएको भन्दै सहयोग गर्ने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई धन्यवाद दिनुभयो । ‘यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ,’ डा.शाक्यले बताउनु भयो, ‘ मेरो योग्यता र क्षमताले भ्याएसम्म नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गरिरहने छु ।’

विसं.२०७५ फागुन ३ गते राजदूत नियुक्त हुनुभएको डा.शाक्यले राजदूतको कार्यभार सम्हालेको यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान दिनु भएको छ । राजदूत डा.शाक्यलाई उक्त सम्मानबाट सम्मान घोषणा गर्ने कार्यक्रममा ‘द एम्बेसडर क्लब अफ इजरायल’ का अध्यक्ष इट्जाख इल्देनले यस्तो प्रतिकुल अवस्थामा पनि सवै देशका राजदूतहरु कार्यक्रममा सहभागी भएकोमा धन्यवाद व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published.