नेपालभाषाका निर्देशक सुरेश खड्गीको पहिलो नेपाली सर्ट मुभि “वान वे” बन्दै
कोरोना भाइरस र लकडाउनले सिने जगतमा बाटो जाम भैरहेको समयमा आफ्नो बाटो पहिल्याउँदै पहिलो पटक नेपाली सर्ट मुभि निर्देशन गर्दैछन् सुरेश खड्गी । नेपालभाषाको फिल्म लाइनमा निर्देशक, निर्माता तथा कलाकारको रुपमा सुपरिचित खड्गीले माया, प्रेममा वान वे कसरी हुन्छ भन्ने यस सर्ट फिल्मबाट देखाउँदै हुनुहुन्छ ।

नेपालभाषाका नामी कलाकारहरु र प्राविधिक मिलेर खस नेपाली क्षेत्रमा योगदानको रुपमा यो सर्ट फिल्म प्रस्तुत गर्दैछन् । नेपालभाषा फिल्म र म्यूजिक भिडियोमा चर्चित अनुहार सुरज नापित र मह जोडिका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका सुपरहिट गीतमा आफ्नो अदाकारीता देखाइसकेकी साथै पुरस्कृत सर्ट फिल्महरुमा कलाकारीता गरेकी नायिका आराध्या लक्ष्मी खड्गीलाई यस सर्ट फिल्ममा मुख्य भुमिकामा देख्न सकिनेछ । नयाँ अनुहार जुनु त्वायनाको साथै अन्य कलाकारको अभिनय रहनेछ ।

दुई नायिका र एक नायकको त्रिकोणात्मक प्रेम कथामा केहि माया, केहि विश्वासघाट, केही रोमान्स र थुप्रै सस्पेन्स मिसिएको फिल्म नै वान वे रहेको निर्देशक खड्गीको भनाइ रहेको छ । यस फिल्ममा आफु नायिका भए पनि फरक भुमिका रहेको र आफुले गरेको अरु फिल्म भन्दा भिन्न पात्रमा देखिने नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड २०१९ को बेष्ट मोडल पपुलर विजेता नायिका खड्गीको भनाइ रहेको छ । उहाँको दृष्टि विहिन युवतीको भुमिकामा सरस्वती नामक सर्ट मुभि तयार भैसकेको छ ।

निर्देशक खड्गी साथै नेपालभाषा चलचित्र लिबाय् धुंकाकी नायिका खड्गीका गुरु लिबाय् धुंकाका निर्देशक राजेशमान सिंह मुख्य सल्लाहकार रहेको यस सर्ट मुभिमा सिंह कै पटकथा रहेको छ । सर्ट फिल्ममा कथा सुजन श्रेष्ठको रहेको छ भने निर्माण पनि उनैले गर्दैछन् । पहिलो पटक निर्माता भएका श्रेष्ठ यस फिल्मदेखि उत्साहित भएका छन् । फिल्ममा वरिष्ठ मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठले सहयोग गरेका छन् । छायाँकन अमर चित्रकारको रहनेछ ।

लकडाउन अघि नै निर्माण गर्ने योजना रहेको यस सर्ट मुभिलाई लकडाउनले नो वे भनेपनि लकडाउन खुकुलो हुनासाथ वान वेले आफ्नो वे खोजिसकेको छ ।