पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने अवस्था छैनः माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने कुनै कारण नभएको बताउनु भएको छ । आज काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको आज उद्घाटन गर्दै नेपालले यस्तो बताउनु भएको हो । ‘बाहिर फैलिएको हल्लाको आधारमा होइन हामी मिहिन ढंगले वाद–विवाद, सम्वाद गरिरहेका र्छौँ,’ नेपालले भन्नुभयो, ‘वादेवादे जायते तत्ववोध’ भने जस्तै वाद, विवाद, सम्वाद हुने वित्तिकै आत्तिहाल्नु पर्ने केही छैन । विधिबाट सबै टुंगो लगाउनुपर्छ । हामी त्यहि प्रयासमा छौँ ।’

उहाँले को नेता छ भन्ने होइन कस्तो पार्टी बनाउने भन्ने कुराको आधारमा चल्नुपर्नेमा पनि जोड दिनुभयो । ‘नेताहरुको बिचमा विश्वास र समझदारीको समन्वय भयो भने अनि विधिको आधारमा टेकेर चल्ने अवस्था भयो भने जस्तो सुकै चुनौतिको सामना गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘एकताबद्ध भएर अघि बढ्न सकिन्छ । हामी सबै त्यहि दिशामा अघि बढौँ । पुष्पलाको योगदानलाई चीरस्थाई बनाई राख्न पनि हामीले पार्टी एकतालाई बलियो बनाउने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’

नेता नेपालले पार्टीको अहिले बसिरहेको बैठक र पार्टी भित्रको विवादका विषयमा धेरै किसिमका चर्चा–परिचर्चा चलिरहेको बारे आफू पनि जानकार रहेको बताउनुभयो । ‘यो विवादको चर्चाले हाम्रा सुभचिन्तकहरु धेरै चिन्तित भएका छन् । बैरीहरु धेरै खुशी भएका छन्,’ उहाँले भन्नुभयो, ‘पार्टी विधि र पद्धतिबाट चल्छ, पार्टी तौर–तरिकाबाट चल्छ । असल व्यवहार र आचरणबाट चल्छ । कम्युनिष्टहरु इमान्दार हुन सक्नुपर्छ । जनताको सेवाको भावनाप्रति समर्पित भएर चल्न सक्नुपर्छ । त्यहि बिचारबाट हाम्रा कार्यकर्तालाई प्रशिक्षित गर्न सक्ने हो भने सबै तहका जनप्रतिनिधिहरुलाई राम्ररी प्रशिक्षित गर्न सक्ने हो भने राम्रा काम गर्नेलाई गौरवबोध हुन्छ । कमी–कमजोरी गर्नेलाई सुधार गर्ने मौका मिल्छ ।’

नेता नेपालले कसैले जानि–जानि कमजोरी गर्छ भने त्यसको सजाए पार्टीले होइन व्यक्तिले पाउनुपर्छ भन्नुभयो । ‘व्यक्तिले गरेको गल्तीमा पार्टीले सजाय भोग्ने हो भने पार्टी चिप्लिन्छ,’ उहाँले भन्नुभयो, ‘पहिलो पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ताले गरेको त्याग, तपस्या, बलिदान, विचार र संगठनमा गरेको मेहनतको आधारमा यो पार्टीको संरचना खडा भएको हो । एक जनाको पौरखबाट होइन हामी सबैको पौरखबाट यो निर्माण भएको छ भन्ने सन्देश हामी सबैले दिइरहेका छौँ । यहि सन्देशका आधारमा हामी अघि बढ्नुको अर्को विकल्प छैन ।’

उहाँले समाजवाद स्थापना गर्ने नयाँ युगमा प्रवेश गरेको भन्दै सबै किसिमको चुनौतिको सामना गर्दै एकताबद्ध हुँदै अघि बढ्नु पर्ने जिम्मेवारी सबै नेताको काँधमा आएको पनि बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि सबै नेताहरुलाई एकताबद्ध भएको सन्देश दिएर आम कार्यकर्ता र नेपाली जनताको मन जित्न सुझाव दिनुभयो । प्रदेश सांसद बसन्त मानन्धरले नेकपाको विकल्प नेकपा नै भएको भन्दै नेता प्रधान नभइ नीति प्रधान हुनुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष नुच्छेकाजी महर्जनले पार्टीका गोप्य बैठकका समाचार बैठक नसकिइ सामाजिक सञ्जालमा आउने कुरा दुःखद् भएको भन्दै नेताहरुाई एकताबद्ध भएको सन्देश दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.