कोभिड१९ को कारणले गर्दा न्हुद:(नयाँ वर्ष ) ११४१ शुभकामना आदान-प्रदान कार्यक्रममा नै सिमित
काठमाडौ। न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा कोरोना महामारीका कारण यस वर्ष न्हूदँको र्याली स्थगित गरी राष्ट्रिय सभागृहमा सिमित संख्यामा भेला भई शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रममा शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले राष्ट्रिय सम्वतको मान्यता पाइसकेको नेपाल सम्वतलाई अब व्यवहारमा पनि प्रयोग गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।
न्हूदँ (नयाँ वर्ष) नेपाल सम्वत ११४१ को अवसरमा राष्ट्रिय सभागृहमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल सम्वतलाई सरकारी कामकाजमा प्रयोग गर्न दिनका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विगतमा पटक पटक प्रतिवद्धता जाहेर गरिएपनि नेपाल सम्वतलाई व्यवहारमा नउतारिएको स्मरण गदै आफु कुराले भन्दा कामले अघि बढ्ने मन्त्री श्रेष्ठले भन्नुभयो ।
‘गएका वर्षहरुमा कतिले के के भने, त्यो दोहोयाइ पनि रहन्न र धेरै बोलि पनि रहन्न,’ श्रेष्ठले भने । ‘म काममा विश्वास गर्छु, म काम गरेर नतिजा दिनेछु ।’
त्यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निरन्तर चल्दै आएको आन्दोलनले नेपाल सम्वतले अहिले राष्ट्रिय मान्यता पाएको बताउनुभयो । अब नेपाल सम्वतलाई सबैले आफैंले नै व्यवहारमा प्रयोग गर्दै अभियानलाई निरन्तर बनाइनुपर्ने आवश्यकता शाक्यले औंल्याउनुभयो ।
न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष रमेश महर्जनले देशको नामबाट नामाङ्करण भएको सम्वत प्रयोग गर्न कोहि किन हिच्किचाउन परेको छ भन्दै प्रश्न गर्नुभयो । देशप्रति गर्व हुने नेपाल सम्वतप्रति पनि गर्व गर्न सक्नुपर्नेमा महर्जनले जोड दिनुभयो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठबाट रचित गीतलाई गायक, संगीतकार पवित्र कसाःले प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रप्रति सम्मान प्रकट गर्दै नेपालको राष्ट्रिय गीतको साथमा नेवाः राष्ट्रिय गान पनि प्रस्तुत गरिएको थियो ।
कोरोना महामारीका कारण यस वर्ष न्हूदँको र्याली स्थगित गरी राष्ट्रिय सभागृहमा सिमित संख्यामा भेला भई शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा पुर्व रक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस नेता तीर्थराम डंगोल, काठमाडौं महानगरपालिकाकी उप प्रमुख हरिप्रभा खड्गी, प्रदेश सभासद् विराजभक्त श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।