राष्ट्रिय विभूति शंखधर साख्वा

काठमाडौँ। आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका थिए शंखधर साख्वाःले ।

इतिहासहरूको अनुमान अनुसार उनी काठमाडौंको लखुतीर्थस्थित बिष्णुमती खोलामा वालुवा चालेर सुन खोजी गर्ने व्यापारी थिए । यो व्यवसायबाट कमाएको पैसाले नै उनले तत्कालीन नेपाली जनताको ऋण चुक्ता गरेको अनुमान गरिन्छ ।

सबै जनता ऋणमुक्त भए पछि देशमा नयाँ युग शुरु भएको संकेत स्वरुप कान्तिपुरका तत्कालीन राजा राघवदेवलाई अनुरोध गरी उनले नयाँ संवत् चलाएका थिए । नेपाली जनताको ऋण चुक्ता गरी नयाँ युग आएको कारणले नयाँ संवतको नाम पनि उनले ‘नेपाल संवत्’ भनी नामकरण गरे । तत्कालीन समाजमा आफ्नो व्यापार व्यवसाय गर्न छुट्टै कोठी समेत भएका ठूला व्यापारीलाई ‘साखवाल’ भन्ने गरिन्थ्यो ।

शंखधर पनि त्यस्तो छुट्टै कोठी भएका व्यापारी थिए र त्यसैबाट उनको नामको पछाडि ‘साखवाल’ शब्द जोडिन आएको हो, पछि त्यही साखवालबाट ‘साख्वाः’ बन्न गएको मानिन्छ । उनी काठमाडौं मरुटोलस्थित छ्वासपाखा क्षेत्रमा बस्ने गर्दथे । सोही ठाउँमा उनले एउटा चैत्य पनि निर्माण गरेका थिए जुन अद्यापि विद्यमान छ ।

सुनको व्यापारी भएको कारणले शंखधर साख्वाः र नेपाल संवत्को शुरुवातलाई जोडेर सुनसँग नै सम्बन्धित एउटा कथा पनि बुनिएको छ । कथा अनुसार एकपटक भक्तपुरका प्रख्यात राजज्योतिष सिद्धिवन्तले एउटा यस्तो शुभमुहूर्त पत्ता लगाए जुन समयमा बिष्णुमती खोलाको वालुवा सुनमा परिणत हुनेछ ।

ज्योतिषको त्यही दावीलाई विश्वास गरी भक्तपुरका राजाले काठमाडौंको लखुतीर्थस्थित बिष्णुमती खोलाबाट वालुवा लिएर आउन दुई जना भरियाहरूलाई खटाए । आफूहरूलाई अ¥हाइएको साइतमा वालुवा लिई भरियाहरू फर्किरहेको अवस्थामा शंखधरले बाटोमा भेटे । भरियाहरू भक्तपुरको नेवार भाषामा कुरा गर्दै आइरहेका थिए । यो देखेपछि शंखधरको मनमा चिसो पसेछ, भक्तपुरका भरियाहरू काठमाडौंमा किन वालुवा लिन आएछन् ? उनले भरियाहरूलाई फकाई फुकाई त्यो वालुवा आफूलाई दिनु, त्यसको लागि ज्याला पनि दिउँला, भक्तपुरको लागि अर्कै वालुवा लिएर जानु भनी वालुवा जम्मै आफ्नो घरको छिँडीमा खन्याउन लगाए । भरियाहरू पुनः खोलामा गई अर्को वालुवा लिएर भक्तपुर फर्के ।

यता शंखधरको छिँडीमा राखिएको वालुवा भोलिपल्ट सुनमा परिणत भएछ । यसरी प्राप्त भएको सुन बेची शंखधरले ऋणमा डुबेका नेपाली जनताको ऋण मुक्त गरिदिए । उनलाई नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते राष्ट्रिय विभूति घोषित गरेको थियो । उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन कछलाथ्व दशमिलाई हाल ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published.