कलाकार कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरितारा पुरस्कार

काठमाडौँ । अभिनेता कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदास श्रेष्ठलाई २०७५ सालको हरिततारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शमसेर जबराको अध्यक्षतामा गत बुधबार बसेको बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने पनि निर्णय गरेको छ ।

वि.सं. २०७५ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पुर्‍याउन महत्वपुर्ण योगदान गरेकाले अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्न लागिएको हो ।

त्यस्तै, ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृती एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पुर्‍याएको योगदानका लागि गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको हो । यो पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

त्यस्तै, मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं २०७६ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश/दश हजार रहेको छ । परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक/अभिनेता विश्वदीप घिमिरे र निर्देशक/अभिनेता, संचारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.