श्री शार्दूल जंग गुल्मले आयोजना गरेको बेकरी तालिम समापन
काठमाडाैं।हनुमानढोका दरवार क्षेत्रको सुरक्षार्थ बसेका नेपाली सेनाको श्री शार्दूल जंग गुल्मले आफ्ना जवानहरूका लागि आयोजना गरेको बेकरी तालिम आइतवार समापन गरेको छ।


नेपाली सेनाका प्रमुख सेनानी विकास शाक्यकाे प्रमुख अतिथि रहेको उक्त समापन कार्यक्रममा श्री शार्दूल जंग गुल्मका १९सैनिक जवानहरूका साथै ४ स्थानीय महिला समेत गरी २३ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र बितरण गरेका थिए।


बेकरी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वर्तमान गुल्मपति सेनानी पूर्ण प्रजापतीले शार्दूल जंग गुल्मले सैनिक कर्तव्य निर्वाह गर्नुका साथसाथै काठमाडौंका स्थानीय जनताको संस्कृति र सम्पदालाई सहयोग गर्ने काम पनि गर्दै आइरहेको बताउनुभयो । तालिमबाट प्राप्त ज्ञानलाई आफू जहाँ रहे पनि त्यसको भुरपुर उपयोग गर्न पनि उहाँले प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो ।

प्रमुखअतिथि सेनानी शाक्यले काठमाडौंको हनुमानढोका दरवार भित्र बस्ने श्री शार्दूल जंग गुल्मका सैनिक जवानहरूले केवल सैनिक गतिविधि मात्र होइन, काठमाडौंको संस्कृति र सम्पदाको मर्म र मूल्यलाई समेत सम्झेर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘हनुमानढोका क्षेत्र काठमाडौंको मुटु जस्तो ठाउँ हो, यहाँ बस्दा यहाँका स्थानीय जनतासँग समन्वय गरेर काम गर्नुपर्दछ ।
सेनानी शाक्य सो गुल्मका पूर्व गुल्मपति पनि हुनुहुन्छ ।
१० दिनसम्म सञ्चालित उक्त तालिम प्रमुख प्रशिक्षक सजना नकर्मीले दिनुभएको थियो ।
सोही कार्यक्रममा आउँदो इन्द्रजात्रालाई लक्षित गरी सञ्चालन गरिएको धिमे प्रशिक्षणको औपचारिक आरम्भ पनि गरिएको थियो । धिमे बाजाको प्रशिक्षण बाजा गुरु एवं नेवाः देय् दबू अन्तर्गत रहेको नेवाः ल्यायम्ह दबूका अध्यक्ष सुदन मुनिकारले दिइरहनुभएको छ ।
’