विचार हाईलाईट

काठमाडौँ महानगरले थाल्यो झिलिमिली कार्यक्रम, माइतीघर मण्डला बन्यो मनोमोहक

दिनहुँ हुने फरक–फरक प्रकारका आन्दोलन, धर्ना, अनशन र खवरदारीसभाले माइतीघर मण्डलाको पहिचान नै फरक बनाएको छ । त्यति मात्र होइन विभिन्न महत्वपूर्ण घटनाको सम्झनामा होस् या केही शुभ सन्देश दिन युवा–युवती हुल बाँधेर त्यहाँ दिप प्रज्वलनका लागि पुग्ने गरेकाले पनि माइतीघर मण्डला थप चर्चित बनेको छ ।

पछिल्लो सयम कोरोनाको कहरसँगै सरकारले गरेको बन्दाबन्दीलाई समेत बेवास्था गर्दै त्यहाँ भएका आन्दोलनले माइतीघर मण्डला थप परिचित बनेको छ ।

हो, यस्ता फरक–फरक पहिचान र परिचय बनाएको माइतीघर मण्डलामा अब तपाईँ साँझको सयममा पुग्नुभयो भने मनमोहक दृष्य देख्न सक्नुहुनेछ । अनि त्यहाँका झिलिमिली प्रकाशले तपाईँ आनन्दित बनाउनेछ । काठमाडौं महानगरपालिकाले ‘रात्रिकालिन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरेसँगै त्यहाँको सध्याकालिन दृष्य अहिले मनोमोहक देखिएको हो ।

काठमाडौँ महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली सहरको सौदर्य बढाउन काठमाडौँ महानगरपालिकाले रातमा झिलिमिली देखिने ‘एलइडी कलर पाइप लाइट’ जडानको कार्यक्रम अघि बढाएको बताउनुहुन्छ । ‘सबै भन्दा बढी चहल–पहल हुने र आवत–जावत पनि बढी हुने माइतीघर मण्डलामा हामीले नमूना परिक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हौँ,’ ज्ञवाली भन्नुहुन्छ,’ ‘विश्वका विभिन्न सहरमा सहरको रात्रिकालिन जिवनलाई जिवन्तता दिन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको पाइन्छ । काठमाडौँ महानगरपालिकाले पनि रात्रिकालिन सहरको सौदर्य बढाउन र साँझका बेला झिलिमिली हेरेर मनलाई आनन्दित बनाउने उदेश्यले यो कार्यक्रम अघि बढाएको हो ।’

उहाँले माइतीघर मण्डलालाई नमूना परिक्षणको रुपमा अघि बढाएको भन्दै काठमाडौंलाई बिश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचिमा सूचिकृत स्थानहरुमा क्रमश यस्ता बत्ती जडान गर्दै जाने बताउनुभयो ।

‘महानगरका केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वका रुपमा बत्ती जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ,’ उहाँले भन्नुभयो, ‘यो कार्यक्रमले एकातिर रात्रिकालिन सहरको जिवन्ततालाई सहयोग पुग्छ भने अर्कोतिर रात्रिकालिन व्यवसायबाट अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन टेवा पुग्नेछ ।’ उहाँले यस्तो कार्यक्रमबाट कम खर्चमै रात्रिकालिन चहलपहल बढ्ने र फुटपाथ पसललाई न्युनिकरण केही हदसम्म सहयोग पुग्ने बताउनुभयो । उहाँले माइतीघर मण्डलाको झिलीमिलीबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जानकारी दिनुभयो । उहाँले विस्तारै नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि यस्ता बत्ती जडान गर्ने जानकारी दिनुभयो ।

उहाँले आगामी आर्थिक वर्षका लागि रंगिचङ्गी बत्ती जडानका लागि करीब ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । ‘हामी विभिन्न संघ–संस्थासँग सहकार्य गरेर पनि अघि बढ्ने सोँच बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘सहरमा रात्रीकालीन सुरक्षाका लागि पनि यो जरुरी छ । सडकमा प्रशस्त प्रकाश भएपछि सिसिटिभि क्यामराको प्रभावकारिता समेत बढ्छ ।’ उहाँले असोज–कात्तिकसम्ममा सहरका पाँच–सात स्थानमा यस्तो बत्ती जडान गर्ने जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाले यो वर्षको नीति तथा कार्यक्रममा समेत काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईटहरु जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास्ट बत्ती जडान गर्नेलगायतका लक्ष्य लिएको छ ।

विचार समाचार हाईलाईट

बिरामीको चापले चिकित्सक त्रसित, कोरोनाको जोखिम भयावह

प्रज्वल शाक्य

लकडाउन खुकुल्याउने बित्तिकै अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ । लकडाउन कडा हुँदा अत्यावश्यक, अझ आकस्मिक नभइ अस्पताल नआउन चिकित्सकको निर्देशन अनुरुप अस्पताल धाउने बिरामी शुन्य प्राय भएको थियो । संसारमा कोरोनाको बिगबिगी र नेपालमा समेत उल्लेख्य मात्रामा कोभिडका बिरामीहरुको संख्याले नेपाल जोखिम मै रहेको देखाउँछ । तर लकडाउन खुकुल्याउने भन्दैमा बिना कुनै व्यवस्था ओपिडिमा बिरामीको चाप बढेकोले त्रसित भएका छन चिकित्सकहरु ।

बिरामी अस्पताल छिर्न अघि केहि नियम अपनाउनु पर्ने व्यवस्था भने गरिएको छ । उपत्यकाका अस्पताल भित्र जानु अघि त्यस बिरामीको तापक्रम जाँच गरिन्छ र हात स्यानिटाइज । कोहि व्यक्तिमा ज्वरो देखिए, ज्वरो शिविरमा पठाइ आरडिटि परिक्षण गरिने व्यवस्था मिलाइएको छ । तर अहिले आरडिटिको नतिजाको भरोसा गर्न सकिने समय होइन । यसले गर्दा पनि कोरोना भएका बिरामी उम्कने सम्भावना हुन्छ र पुरै अस्पतालका बिरामी, चिकित्सक र कर्मचारीलाई जोखिम सृजना गर्न सक्छ ।

चिकित्सकका लागि अहिले कोरोनाबाट बच्न मास्क, चस्मा, गाउन र पञ्जाको व्यवस्था गरिएको छ । जुन सामान्य विरामीका लागि पनि व्यवस्था हुने गरेको छ । अहिलेको यस असमञ्जस परिस्थितिमा हरेक बिरामीलाई कोरोना संक्रमितको शंकामा सेवा प्रदान गर्नु पर्ने हुन सक्छ । तर त्यसको व्यवस्था सायदै भएको होला । एक बिरामीको सेवा पछि प्रयोगमा आएका सम्पुर्ण सुरक्षा सामाग्री स्यानिटाइज गरिनु पर्छ । पिपिइ, पञ्जा, फेरिनु पर्छ । तर त्यसको व्यवस्था भएको देखिँदैन । एकै पिपिइ प्रयोग गरि सबै बिरामी जाँच्नु पर्ने बाध्यता हरेक चिकित्सकको रहेको छ । नर्सले पनि बिरामीको रक्तचाप लिँदा पिपिइ प्रयोग गर्नुपर्छ । तर एक बिरामी पछि पिपिइ परिवर्तन गर्नु पर्ने नियम नेपालमा लागु भइसकेको अवस्था छैन ।

अहिले नै लकडाउन खुकुलो भयो भनि हर्ष गर्न नहुने चिकित्सकको राय छ । लुकिचोरी एक ठाउँबाट अर्कोमा जाने, सीमा पार गर्ने र प्रहरीलाई छारो हाली टोल, गाँउ, शहर पस्नेहरुको लर्को लागि रहेको छ । कोरोना रोग हो कि अपराध हो । यसरी लुकि लुकि बस्ने देखेर चिकित्सक मात्र नभइ प्रहरी प्रशासन पनि ताजुब मान्दै छन् ।

बिरामीको नाटक गरि एम्बुलेन्समा देशको राजधानी पस्ने जमात जस्तै सच्चा बिरामीपनि खतराको घण्टी हो । नेपालका कुनाकाप्चामा उपचार हुन नसकेका बिरामीलाई काठमाडौंमै रिफर गरिने गर्छ । मुटु रोगका लागि कपिलवस्तु, बुटवलमा गौतम बुद्ध अस्पताल, भैरहवामा युसिएमएस, क्रिमसन अस्पतालको सुविधा पर्याप्त छ । नेपालगञ्जमा मेडिकल कलेज छँदैछ । बिरातनगरमा नोवेल अस्पताल रहेको छ । सरकारी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य शिविरहरुले दिन नसकेको सुविधा यी अस्पतालले दिन सक्छन । काठमाडौंमै आउनु पर्ने बिरामीहरुलाई त्यसै क्षेत्रका अस्पतालले उपचार गर्ने हो भने कोरोना संक्रमणको जोखिम न्युनिकरण हुन सक्छ ।

तर सरकार अझै पनि स्वास्थ्य क्षेत्रमा लाचार रहेको चिकित्सकहरुकै दुखेसो छ । यस्ता जटिल बिरामीहरुको संख्या बृद्धि हुँदो हो वा बिरामीको अवस्था नाजुक हुँदै थप उपचार गर्नु पर्ने अवस्था सृजना भएमा काठमाडौंको बिकल्प छैन । यसले गर्दा तराईका क्षेत्रमा बिगबिगी बढिरहेको कोरोना संक्रमितले देशैभरि यो रोगलाई सार्न सक्छन । कोरोना नदेखिएका वा कोरोना नभएका उपत्यका जस्ता क्षेत्रलाई सुरक्षित गर्न र कोरोना देखिएका क्षेत्रलाई शिल गर्न सरकारले तदारुकता नदेखाउने हो भने र त्यहि क्षेत्रमा व्यवस्थित नगर्ने हो भने, युरोप, अमेरिकाको हविगत नेपालले भोग्न समय लाग्दैन । र त्यो भोगाइ नेपालको तयारी हेर्दा भयावह हुन सक्छ ।

विचार

युवा र राजनीतिक नेतृत्व

  • रविकिरण हमाल

राजनीति फोहोरी खेल हो भन्ने भनाइ चर्चित छ । यस भनाइको प्रभावले नै नागरिकहरुले राजनीतिलाई फोहोरी खेलको संज्ञा दिँदै आएका छन् । तर राजनीति आफैंमा फोहोरी खेल नभइ यसका खेलाडीका कारण फोहोरी भएको हो ।

सामान्य रुपमा बुझ्दा राजनीति गर्नेहरु समाजका अगुवा हुन् । उनीहरुले नै समाजका अन्य नागरिकलाई अगुवाइ गर्दै मुलुकको उन्नतिमा लाग्न सहयोगी भूमिका खेल्छन् । तर व्यवहार त्यसको ठीक विपरीत भएको छ । राजनीति गर्नेहरु नै चोर, फटाह, भ्रष्टचारी भएको यथेष्ट पाइएको छ । यसबाट नेपाली राजनीतिक क्षेत्र पनि अछुतो रहेको छैन ।

लामो समय नागरिक र देशका लागि भन्दै संघर्ष गरेर आएका नेताहरु सत्ता र शक्तिका लागि राजनीतिक आदर्श, मूल्य मान्यताबाट बिमुख भएका छन् । यद्यपि एकथरी युवाहरु नेतृत्वको भजन कृतनमै व्यस्त छन् । अर्काथरी युवाहरु भने राजनीतिक नेतृत्वको यस्तो क्रियाकलापका कारण राजनीति फोहोरी खेल भन्दै उनीहरुको कामलाई टुलुटुलु हेरिरहेका छन् । युवा पुस्ताका यस्ता कार्यले गलत काम गर्ने नेतृत्वलाई झन् निर्धक्क भएर त्यही गलत काम गर्न प्रेरित गरेको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवाहरु यस्ता कार्यका कारण राजनीतिबाट झन् झन् टाढिँदै गएका छन् ।

राजनीतिमा युवाको आवश्यकता

राजनीतिबाट बिमुख युवालाई राजनीतिमा नै ल्याउन युवाहरु नै अग्रसर हुन आवश्यक छ । किनकि हरेक मानिसलाई आफ्ना दौतरीले जति अरुले प्रभाव पार्न सक्दैन । एउटै उमेर समूहका मानिसहरुका भावना र विचार समान हुन्छ । त्यसैले एकले अर्कोलाई सहज रुपमा रुपान्तरण गर्न सक्दछ ।

राजनीतिमा युवा पुस्ताको प्रवेश आवश्यक रहेकाले राजनीतिमा क्रियाशील युवाले अर्को युवालाई सुझाव दिनु पर्दछ । राजनीतिले गलत दिशा लिए दशकौंको त्याग, बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धिहरु संस्थागत हुन सक्दैन । यसलाई बचाइराख्न पनि युवाहरु राजनीतिमा लाग्न जरुरी छ ।

यस्तै भ्रष्टचार, अन्याय र विभेदविरुद्ध पनि लाग्नु आजको आवश्यकता छ । त्यसैले हामीले यसबारे शून्य शहनशीलता अपनाउनुपर्छ । हाम्रो घर, टोल छिमेक वरपरकै मानिसहरु गलत कार्यमा संलग्न भएको पाए निर्धक्क बिरोध गर्नु पर्दछ । 

युवाहरु भविष्यका नेतृत्व हुन् । त्यसैले नेतृत्व सम्हाल्न तयार भएर बस्नु पर्दछ । राजनीतिक नेतृत्वका लागि प्रमुख तत्व वैचारिक स्पष्टता हो । नेतृत्वले सदैव युगसापेक्ष विचार अँगाल्नु पर्दछ । लोकतान्त्रिक मूल्य र मान्यतालाई अझै उन्नत बनाउनु पर्दछ । यसका लागि वैचारिक स्पष्टता हुन जरुरी छ ।