राजनीति समाचार

सनक र लहडमा पार्टी एकता भएको होइन : प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताएका छन् ।

इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले कसैका सनक र लहडमा पार्टी एकता नभएको दाबी गरे ।

‘पार्टी एकतालाई हल्का रूपमा नलिनु होला,’ अध्यक्ष प्रचण्डले भने, ‘एकता भनेको असल नेतृत्व, असल नेता र नेतृत्वशैलीबाट मात्र हुन्छ । त्यो सबै मिलेकै कारण मात्र एकता सम्भव भएको हो ।’

विगतमा कम्युनिष्ट शक्ति विभाजित हुँदा गैरकम्युनिष्ट शक्तिले प्रभाव जमाएको उल्लेख गर्दै उनले असल नेतृत्व र नेतृत्वशैलीको प्रभावले गर्दा मात्र एमाले र माओवादीबीच एकता सफल भएको दाबी गरे । उनले नेपालको कम्युनिष्ट एकताबारे चर्चा गर्दै २०२८ सालदेखिको कम्युनिष्ट आन्दोलन र त्यसबेलाको परिस्थितिपछि राष्ट्र र जनताको मागले गर्दा अहिले आएर एकता सम्भव भएको बताए ।

अध्यक्ष प्रचण्डले विगतमा पनि एकताका प्रयास भए पनि विभिन्न कारणले हुन नसकेको प्रष्ट्याए । ‘मैले २०५० सालमा पनि तत्कालीन मालेका महासचिव मदन भण्डारीलाई एकताका लागि आग्रह गरेको थिएँ, तर उहाँको असामयिक निधनका कारण एकता हुन सकेन,’ उनले भने, ‘यदि मदन भण्डारी भएको भए एकता पक्कै त्यति बेलै हुन्थ्यो होला ।’

उनले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।

उनले कार्यकर्तालाई पार्टी एकता नेताले चाहेर मात्र भएको नभई परिस्थिति र असल नेतृत्वका कारण भएको स्पष्ट पारे । ‘पार्टी एकता त्यसै भएको छैन, तपाईंहरूले कम्युनिष्ट इतिहास पढ्नु भयो भने मात्र यसको मर्म बुझ्नु हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो यो एकतालाई विश्वले समेत सराहना गरेको छ, दुई फरक ठूला पार्टी एकता हुने कुरा मामुली रूपमा नलिनु होला ।’

उनले पहिलो संविधान निर्माणका लागि चुनाव लड्दै गर्दासमेत तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालसँग आफूले एकताका लागि आग्रह गरेको तर सम्भव नभएको उल्लेख गरे ।

राजनीति

असार २२ देखि कांग्रेस केन्द्रीय समिति बैठक, के-के छन् एजेण्डा ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक आगामी असार २२ गते बोलाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका सबै संगठन संरचनाहरुको संरचना निर्माणका लागि आवश्यक निर्णय लिनेगरी आगामी असार २२ गते आईतबार पार्टी केन्द्रिय कार्य समिति बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा नेविसंघ, तरण दललगायतका भातृ संस्थाहरुको समिति बनाएर पार्टीलाई गतिशिल ढंगले अघि बढाउने विषयमा छलफल केन्द्रित हुने शर्माको भनाइ छ । केन्द्रीय कार्यालय सानेपामा पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा गर्न बसेको केन्द्रीय प्रतिनिधिहरुको बैठकमा पार्टीलाई गतिशिल बनाउने गरी एकतावद्ध भएर अघि बढ्न नेतृत्वलाई दवाव दिएपछि कांग्रेसले सो सम्बन्धमा आवश्यक निर्णय लिन केन्द्रीय कार्य समिति बैठक बोलाउने भएको हो ।

प्रवक्ता शर्माले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनुअघि नै पार्टीको सबै संगठन संरचनाको निर्माण गर्ने पार्टीको योजना रहेको जानकारी दिए ।

उनले राष्ट्रिय जागरण अभियानको समीक्षाका लागि केन्द्रीय प्रतिनिधिहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएको बताए । यता, केन्द्रीय प्रतिनिधिहरुले पनि सरकारप्रति जनताको वितृष्ण फैलिएकाले दावी गर्दै उनीहरुको विश्वास जित्ने गरी पार्टीको कार्यक्रम अघि बढाउन नेतृत्वलाई दवाव दिएका थिए ।

पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बसिरहेको बैठकमा सहभागी भएका हुम्लाका केन्द्रीय प्रतिनिधि हस्तबहादुर मल्लले सरकारको अर्कमण्यता जनताको माझ लगेर उनीहरुको विश्वास जित्ने गरी काम गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको जानकारी दिए ।

मल्लले पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र एकताको सन्देश दिएको उल्लेख गर्दै त्यसलाई निरन्तर अघि बढाउन पनि पार्टी नेतृत्वलाई सचेत गराए ।

राजनीति

सरकारको कामको समीक्षा गर्नुपर्छ : भीम रावल

कैलाली– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने बताए ।

पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने/नगर्ने बारेमा भन्न सकिने पनि रावलले बताए ।

सरकार फेरबदलका विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै रावलले आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्ने उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी दिँदै उनले नौ वटै जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रमसमेत सम्पन्न भइइसकेकाले अब पार्टीका भातृ सङ्गठनको एकीकरण कार्यलाई तीव्रता दिइने बताए ।

राजनीति

बिर्तामोड नगरपालिका प्रमुख शिवाकोटीको प्रष्टीकरण : क्षतिपूर्ति रकम लिएको छैन

झापा । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सरकारले दिएको क्षतिपूर्ति रकम नलिएको बताएका छन् ।

गत कात्तिकमा अर्जुनधारा–११ निवासी लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर प्रदर्शनका क्रममा प्रमुख शिवाकोटीको घर, गाडी र मोटरसाइकलमा क्षति पुगेको थियो । उक्त क्षतिबारे गृह मन्त्रालयद्वारा गठित समितिको सिफारिसमा ३० लाख क्षतिपूर्ति दिने निर्णय भएको थियो ।

उक्त निर्णय तीन महिनाअघि नै भए पनि लिन अनिच्छुक भएकाले हालसम्म नलिएको प्रमुख शिवाकोटीले पत्रकार सम्मेलन गरेर बताएका छन् । नलिएको रकम लिएको भनी सञ्चारमाध्यमा समाचार प्रकाशन गरी भ्रम फैलाएको भनी उनले आपत्ति समेत जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी र नगर समितिको परामर्शमा जानकारी कार्यक्रम गरिएको  नेकपा बिर्तामोड नगरका इन्चार्ज युवराज दाहालले बताए ।  

राजनीति

आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम भएन-पूर्वउपराष्ट्रपति झा

काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले ९५ प्रतिशत ॐकार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको बताएका छन् ।

गुरु गोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशीला तथा नेपाल विश्व हिन्दू महासंघले शनिबार आयोजना गरेको बृहत् धार्मिक सभामा उनले यस्तो बताएका हुन् । वि.सं. २०६८ को जनगणनाअनुसार पौने तीन करोड जनसंख्यामा दुई करोड १५ लाख हिन्दू रहेको उल्लेख गर्दै उनले संविधानको सुझाव लिने समयको जनमतलाई कदर गरेको भए धर्म सापेक्ष देश हुने दावी गरे ।

विश्वमा ४२ वटा संविधानमै इस्लाम धर्म लेखिएका देश भएको बताउँँदै पूर्वउपराष्ट्रपति झाले सनातनदेखि वैदिक मूल्यमान्यतालाई आत्मसात् गर्दै आएको नेपाललाई धर्मनिरपेक्ष लेखिएकामा लामो समयदेखि असन्तुष्टि रहिरहेको जिकिर गरे ।

पूर्वसांसद भिक्षु आनन्दले संकीर्ण मानसिक सोचका कारण हिन्दू र बौद्धको उद्गमस्थल नेपालको तपोभूमि, ज्ञानभूमि र शान्तिभूमिको परिचय हराउने खतरा बढेको बताए ।

कार्यक्रममा पूर्वमुख्य न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठ, भारतको गुरु गोरक्षनाथ इन्टरनेसनल फाउन्डेसनका उपाध्यक्ष तेजपाल सिंह, विश्व हिन्दू महासंघ बेलायत शाखाका अध्यक्ष चिरञ्जीवी ढकाल, ज्येष्ठ नागरिक समाजका संयोजक चिरञ्जीवी कँडेल, रामजानकी मन्दिर जनकपुरका महन्त जगन्नाथ वैष्णवदास, पाशुपत योगाभ्यास स्थलका महात्मा सुशील, वृन्दावन संरक्षण समिति अछामका संयोजक कमानसिंह खड्का, नेपाल विश्व हिन्दू महासङ्घका सचिव अभिषेक तिवारी, राम बाबा, आधारशीलाका अध्यक्ष रुद्रबहादुर आले लगायतले वैदिक सनातन धर्मको संरक्षणमा ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रममा लोपोन्मुख मौलिक खैँजडी भजनको प्रस्तुतिसमेत गरिएको थियो । (रासस)