पर्यटन रितिरिवाज / परम्परा समाचार संस्कृति हाईलाईट

बुद्ध जयन्तीका कार्यक्रम स्थगित, घरमै मनाउन आग्रह

लुम्बिनीमा हुने तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । लुम्बिनी विकास कोषले बिहीबार एक विज्ञप्ति जारी गर्दै वैशाख २५ को २५६४ औं बुद्ध जयन्ती मूल समारोह र त्यसको दुई दिनअघि सुरु हुने तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रम स्थगित भएको जानकारी दिएको छ ।

लकडाउनका कारण हजारौं संख्यामा मानिस भेला भई कार्यक्रम आयोजना गर्ने अवस्था नभएको कोषले जनाएको छ । बुद्ध जयन्ती र अन्तराष्ट्रिय बौद्ध सम्मेलनका लागि कोषले ४ करोड रुपैयाँ बजेट माग गरेकामा एक करोड रुपैयाँ वार्षिक कार्यक्रम अन्तर्गत स्वीकृत भइसकेको थियो ।

लुम्बिनीस्थित विहार, मोनास्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा बिहान पूजाआजा गरि बुद्ध जयन्ती मनाइने लुम्बिनी विकास कोषले बताएको छ । सामाजिक दुरी कायम गरीे २५ सय ६४ वटा दीप प्रज्वलनको कार्यक्रम पनि राखिएको छ ।

कोषले बौद्धमार्गीलाई आआफ्नो स्थानमा सुरक्षित रही प्रार्थना एवं पाठपूजा गरी बुद्धजयन्ती मनाउन अपिल गरेको छ। हरेक वर्षको बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा कम्तीमा दश हजार जनाको जमघट हुने गर्दछ ।

आर्थिक पर्यटन समाचार हाईलाईट

कोरोना जोखिमका कारण ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित

‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको छ । फागुन २३ देखि २५ गतेसम्म टोखा नगरपालिकाले आयोजना गर्न लागेको महोत्सव कोरोना भाइरस जोखिमका कारण स्थगित गरिएको नगरप्रमुख प्रकाश अधिकारीले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
विश्व स्वास्थ्य संठनले भारतलगायत नेपाललाई उच्च जोखिममा राखेको हुनाले महोत्सव स्थगित गरिएको हो । नेपाल भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई टोखा चिनाउनका लागि महोत्सवको अयोजना गरिएको हो । नेवाः गुठी टोखाको व्यवस्थापनमा महोत्सव हुन लागेको थियो । महोत्सव सम्पन्न गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन समेत गरिएको थियो । हालसालै नेपाल भ्रमण वर्ष २०२०को विदेश प्रचार पनि स्थगित गरिएको छ ।

पर्यटन

वसन्तयाममा ६५९ ले सगरमाथा चढे

काठमाडौं– सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना (सरदार, गाइड र शेर्पासमेत गरेर) जम्मा एक हजार २३ रहेका थिए । पर्यटन ऐन, २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अन्तर्गत सगरमाथा आरोहणका लागि अनुमति दिइएको हो ।

यस यामको सगरमाथा आरोहणका क्रममा आठ जनाको मुत्यु भएको र एक जना हराइरहेको विभिन्न एजेन्सीको विवरणलाई उद्धृत गर्दै विभागले उल्लेख गरेको छ ।

सगरमाथामा ट्राफिक जाम र अधिक अनुमतिपत्रका कारण आरोहीको मृत्यु भएको भनी सञ्चारमाध्यममा आएको विषयको खण्डन गर्दै विभागले आरोहणमा खटिने सम्पर्क र विभिन्न एजेन्सीको विवरणअनुसार मुत्युका कारण (लेक लाग्ने, प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरी) बाट खुल्न गएको स्पष्ट पारेको छ ।

सगरमाथा आरोहणका लागि यस वर्ष अनुमति प्राप्त आरोही सदस्य सङ्ख्या ३८१, सन् २०१८ मा ३४६ र सन् २०१७ मा ३६६ थियो । अघिल्लो भन्दा यस वर्ष ३५ जना मात्र बढी हो । त्यस्तै सन् २०१८ मा सन् २०१७ को तुलनामा १५ जना मात्र बढी रहेको विभागको अभिलेखले देखाएको छ ।

विभागको अभिलेख हेर्दा अधिक अनुमतिपत्र वितरण गरेकै कारण सगरमाथामा आरोही, सरदार गाइडको मृत्यु भएको हो भन्ने विषय वास्तविक नरहेको तथ्य तथ्याङ्कलेसमेत देखाएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस मौसममा सगरमाथा लगायतका हिमालको आरोहणका लागि क्रमशः मृत्यु भएका तथा हराइरहेकालगायत पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानूनी, संरचनागत, कार्यविधिगत सुधारका लागि सुझाव दिन अध्ययन समिति गठन गरिएको छ ।

गत जेठ २४ गते (प्रधानमन्त्रीस्तर) को निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवद्र्धन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको र उक्त समितिले हाल उठाइएका विषयका अतिरिक्त यससँग सम्बन्धित सबै विषयमा गम्भीरतापूर्वक अध्ययन गरिरहेको विभागले जनाएको छ ।

आर्थिक पर्यटन

भिजिट नेपालको प्रभाव: चार महिनामा ४ सय ६६ होटल दर्ता

काठमाडौं । भिजिट नेपाल २०२० नजिकिएसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढेको छ । पछिल्लो समय स्टार होटलभन्दा पनि क्षेत्रीय रुपमा साना होटल तथा रेष्टुराँ खुल्ने क्रम बढेको कम्पनी रजिष्टार कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ४ महिनमा मात्र ४ सय ६६ होटल तथा रेष्टुराँ दर्ता भएको छ । सरकारले २०२० लाई भ्रमण वर्ष सहित २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएसँगै होटल तथा रेष्टुराँ खुल्ने क्रम बढेको हो ।

पछिल्लो समयमा कम्पनी रजिष्टारमा साना होटल तथा रेष्टुँरा दर्ताको क्रम बढे पनि ठूला होटलमा भने लगानी घट्दै गईरहेको कम्पनी रजिष्टार कार्यालयको तथ्याङकमा उल्लेख छ ।

५० करोड रुपैयाँ लगानीमा दर्ता भएका होटल वण्डरल्याण्ड र होटल विरगञ्ज प्लाजा मात्रै रहेको छ । २५ करोड रुपैयाँभन्दा माथीको लगानी रहेको होटल तथा रेष्टुँराको संख्या भने ३ ओटा रहेका छन । जुन स्वर्णिम होटल पोखरा, डाली होटल विथ रेष्टुरेन्ट र रोयल मण्डले होटल पर्सा रहेका छन ।

त्यस्तै, १ करोड रुपैयाँभन्दा माथी २५ करोड रुपैयाँसम्म अधिकृत पूँजी भएका होटलको संख्या १ सय पुगेको छ । ५० लाख देखी १ करोड रुपैयाँसम्म लगानी भएका होटलको संख्या भने १ सय २६ ओटा रहेका छन । ५० लाख रुपैयाँसम्म अधिकृत पूँजी भएका होटलको संख्या भने २ सय ३४ ओटा रहेका छन ।