काठमाडौँ । कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव एकापसमा आदन–प्रदान गर्दै समस्या समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल–इजरायल केरोना योजना (एनआइसीआई) गठन भएको छ । कोरानाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआइसीआई गठन गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । गत जेठ १३ गते इजरायल स्थित नेपाली राजदूतावासको संयोजनमा नेपाल र ईजरायलका चिकित्सकहरुबीच नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल सम्वाद भएको थियो ।
‘नेपालमा पछिल्लो सयम फैलिदो क्रममा रहेको कोरोना संक्रमण र त्यसबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि सहयोग आदन–प्रदान गर्ने उदेश्यले यो योजना गठन गरेको हो,’ राजदूत शाक्यले भन्नुभयो, ‘ईजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा ईजरायलको अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुन सक्ने अपेक्षा हामीले लिएका छौँ ।’ यो समितिमा दुबै देशका विशेषज्ञ डाक्टरहरु तथा विज्ञहरुको आ–आफ्नै समिति बनाएको दूतावासले जानकारी दिएको छ । ‘ती समितिबीच एक आपसमा सम्पर्क गरी नेपालको कोरोना उपचार एवं आइसोलेसन व्यवस्थापनमा सहयोग गर्ने उदेश्य लिइएको छ,’ शाक्यले भन्नुभयो, ‘दुबै पक्षले एक अर्काको ज्ञान र अनुभवबाट सिक्ने वातावरण बन्ने पनि अपेक्षा गरेका छौँ । अहिले निरन्तर रुपमा इमेलमार्फत आपसी छलफल तथा अनुभव आदान–प्रदान गरिरहेका छौँ ।’

शाक्यका अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभाग महानिर्देशक दिपेन्द्र रमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीम प्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पतालका डा. शैलेन्द्र श्रेष्ठ, नेपाल आर्मी अस्पतालका डा. अरुण न्यौपाने, डा.सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा. आशिष दत्त, पाटन अस्पतालका डा. आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. सन्त कुमार दास हुनुहुन्छ । नेपाल पक्षको संयोजकमा काठमाडौं विश्वविद्यालयका डा. विराज कर्माचार्य हुनहुन्छ । त्यस्तै इजरायलको तर्फबाट भौगोलिक र उष्ण प्रदेशीय केन्द्रका प्राध्यापक एली स्वार्य, आन्तरिक संक्रामक रोग र औषधीका विशेषज्ञ मिक एल्केन, इपिडियोमोलोजी तथा पब्लिक हेल्थका प्राध्यापक नदेव ड्याभिडोविच , बालचिकित्सक असर मोइजर रहनु भएको छ । इजरायली पक्षको संयोजनकर्तामा डाक्टर एडा गन्सच् रहनु भएको छ । यो कार्यका लागि नेपाल स्थित इजरायली राजदूतावासका राजदूत पनि सहभागी हुनुहुनेछ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार इजरायलमा अहिलेसम्म १८ हजार २ सय ६८ संक्रमित भएका छन् भने १ सय ७९ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म इजरायलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ९९ छ ।
राजदूत शाक्यका अनुसार योसँगै नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भइसकेको छ । ती सम्झौताहरु कोरोनाको महामारी न्यून भएपछि कार्यान्वय हुनेगरी अघि बढाउने तयारी छ ।
प्लाज्मा थेरापीबाट भारतमा एकजना कोरोना संक्रमित निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
दिल्लीका ४९ वर्षीय कोरोना पोजिटिभ पुरुषलाई म्याक्स अस्पतालमा यो प्रविधि प्रयोग गरिएको थियो । ४ अप्रिलमा लक्षण देखिएका उनी भर्ना भएपछि स्थिति धेरै बिग्रिसकेको थियो । उनी निमोनिया ग्रसित भएका थिए ।
त्यसपछि ८ अप्रिलमा उनलाई भेन्टिलेटरमा राखिएको थियो । अवस्था सुधारोन्मुख नभएपछि परिवारले चिकित्सकसँग प्लाज्मा थेरापीको माध्यमबाट उपचार गर्न अनुरोध गरेका थिए । भारतमा पहिलो पटक प्लाज्मा थेरापिबाट कोरोनाको उपचार गरिएको थियो । उनलाई १४ अप्रिलमा प्लाज्मा दिइएको थियो ।
कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा २४ घण्टामा २१७४ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा कोरोनाले मर्नेको संख्या ३२ हजार ८ सय ६८ पुगेको छ । न्यूयोर्कमा मात्रै ११ हजार ४ सय ७७ को मृत्यु भएको छ ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ ।
यस दौरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् । राज्यका गभर्नरहरुका लागि एक निर्दे्शिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन् ।
राष्ट्रपति ट्रम्पले केही राज्यहरुमा यसै महिनादेखि लकडाउन हटाउन सक्ने बताएका छन् । ‘अमेरिका खुला हुन चाहन्छ र अमेरिकन खुला हुन चाहन्छन्, देश बन्द राख्नु दिगो समाधान होइन ।’ ट्रम्पले बताए ।
यस महिनाको अन्तसम्ममा अमेरिकामा बेरोजगारीको दर २० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । लकडाउनले लागूऔषध दुव्र्यसनी, मदिरा प्रयोग, मुटुका बिरामी र अरु शारीरिक र मानसिक समस्या बढ्न थालेको छ ।
स्वस्थ नागरिकले निश्चित नियम पालना गरेर काममा फर्किने प्रस्ताव गरिएको छ । स्वस्थ व्यक्तिले सामाजिक दूरी कायम राखेर काममा सहभागी हुने र अस्वस्थ भए घरमै राख्ने ट्रम्पको रणनीति छ ।
उता गभर्नरहरुले लकडाउन नखोल्ने जनाएका छन् । ट्रम्प राष्ट्रपति मात्र भएको र राजा सरह उनको सम्पुर्ण निर्देशन पालना गर्न नपर्ने न्यूयोर्कका गभर्नर एंड्रयू कुओमोले बताएका छन् ।
दुई दिनअघि ब्रिटेनका राजकुमार चार्लस् लाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक पुष्टि पछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना भाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ । जोनसनले आफूलाई कोरोना भाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन् । प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा इङ्गल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस ह्विटीको सल्लाहमा उनको कोरोनाभाइरस परीक्षण गरिएको भनिएको छ । बिरामी भए पनि उनले नै सरकारको नेतृत्व गरेर यो विपतको सामना गर्ने विज्ञप्तिमा बताइएको छ। ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबार सम्म पुग्दा विश्वभरिका आधा मिलियन जनसंख्या कोरोनाको संक्रमणले ग्रस्त भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार ५३३,०१५ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ । यो संख्या अहिले सम्म भएको परिक्षणको नतिजा हो । परिक्षण हुन बाँकिको लगत संकलनले यो तथ्यांक अझ बढ्ने विज्ञको अनुमान रहेकोछ । तथ्यांक अनुसार एक लाख कोरोना भाइरस संक्रमित हुन लगभग ६७ दिन लागेको थियो । त्यसपछि थप एक लाख संक्रमण हुन केवल ११ दिन लागेको थियो । त्यसको ९ दिनमा अर्को एक लाख संक्रमित थपिएका थिए । तर त्यसको चार दिनमै थप एक लाख कोरोना संक्रमित पहिचान भएका थिए । तर यो संख्या थप एक लाख थपिन दुई दिन काफि भएको छ । विश्वका एक चौथाई जनसंख्या लकडाउनमा रहेको समयमा कोरोना संक्रमितको संख्या बुलेट ट्रेनको रुपमा बढ्दै छ ।
इटालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट ३७ चिकित्सकको मृत्यु भएको छ । विश्वको आधुनिक स्वास्थ्य व्यवस्था मध्यको एक इटालीमा चिकित्सकहरुले संक्रमितको बढ्दो संख्याका कारण निकै कठिन परिस्थितिमा रहेको खुलाएका छन । हिजैमात्र कोरोना संक्रमणका कारण एक नर्सले आत्महत्या गरेकी छिन । बढ्दो संक्रमित संख्यामा आफुले रोग सार्न सक्ने हुनाले ती नर्सले आत्महत्या गरेको खुलेको छ । इटालीमा बिहिबारसम्म ७ हजार ५ सय ३ को मृत्यु भएको छ भने संक्रमितको संख्इा ७४ हजार ३ सय ८६ र ९ हजार निको भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण सन् २०२० को ओलम्पिक खेल २०२१मा हुने भएको छ । बेलायत, अस्ट्रेलिया र क्यानडाले जापान ओलम्पिकमा भाग नलिने बताएपछि ओलम्पिक स्थगन गरिएको हो । जापानी प्रधानमन्त्री र अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्षको सहमतिमा आउँदो जुलाई २४ देखि हुन लागेको ओलम्पिक खेल स्थगनको निर्णय भएको हो । जापानी प्रधानमन्त्री सिन्जो आबेले सोमबार संसदमा ओलम्पिक स्थगित गर्नुपर्ने जानकारी गराएका थिए ।
कोरोना भाइरससँग विश्व नै ग्रसित अवस्थामा कोरोनाको उद्गम स्थल चीनको उहानमा भने संक्रमण शून्यमा पुगेको छ । यसको अर्थ नयाँ संक्रमित रोगीहरु नरहेको चीनको सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
गत मंगलबार १३ जनाको यसै कोरोनाका कारण मृत्यु भएको थियो भने बुधबार ८ जना संक्रमितको मृत्यु भएको थियो । सन २०१९ डिसेम्बरको मसान्तदेखि देखिएको कोरोना संक्रमणले चीनमै ३ हजार २ सय ३७ जनाको ज्यान गइसकेको छ भने ८० हजार ८ सय ८९ संक्रमित रहेकामा २ हजार ६ सय २२ जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकी राष्ट्रपति सुरक्षित, ब्राजिलका राष्ट्रपति र स्पेनका प्रम पत्नीमा कोरोनाको संक्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको छ । केही समय पहिला ट्रम्पले भेटेका मानिसहरूमा कोरोना भाइरस देखिएकाले उनले शुक्रबार आफूलाई कोरोना भाइरस भएरनभएको परीक्षण गराएका थिए। संक्रमित र मृतकको संख्या बढ्न थालेपछि ट्रम्प प्रशासनले बेलायत र आयरल्याण्डबाट अमेरिका आउने व्यवसायिक उडान पनि बन्द गरिदिएको छ।
कोरोनाको महामारी रोक्न ट्रम्प प्रशासन आन्तरिक यात्रामा पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । यसैबीच अमेरिकामा २ हजार ९ सय ९९ जनालाई कोरोना भाइरस देखिएको छ भने ४९ जनाको ज्यान गएको छ।
उता ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोमा भने कोरोनाको पुष्टि भएको छ । उहाँले परीक्षण गर्नु अघि मात्र अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । बोल्सोनारोलाइ कोरोना भाइरस देखिएको पुष्टि हुनु केही घण्टा अघि उनका प्रेस सल्लाहकारमा पनि संक्रमणको पुष्टि भएको थियो ।
त्यसैगरि स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ । स्पेनले बिहीबार कोरोना भाइरसको रोकथामको पहिलो कदमका रुपमा देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी सोमबारबाट लागु हुने गरी उसले आन्तरिक एयरलाइन्स,रेल तथा डुङ्गा संचालकहरूलाई आफ्नो सेवा आधाले कटौती गर्न भनेको छ ।
विश्वका शक्तिशाली राष्ट्रका शक्तिशाली प्रमुखहरु नै कोरोनाको शिकार भएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन त्रुडिउ कोरोनाका कारण आइसोलेसनमा बस्दैछन् । आइसोलेसन भन्नाले कसैसँग हिमचिम वा भेटघाट नगरी घरैमा बस्न लागेका हुन । उहाँ आफुलाई कोरोना भाइरस नलागेपनि श्रीमती सोफी ग्रीगोर त्रुडिउलाई कोरोना भाइरस देखिएपछि घरमै बस्न लागेका हुन् । उहाँले घरबाटै आफ्नो कार्यभार सम्हाल्नेछन् ।
उता अमेरिकाले संकतकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका रोगी तथा मृतकको संख्या बढेकाले संकतकाल लागु गरिएको बताएका छन् । ब्राजिलका उच्च पदस्त अधिकारी साथै अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना देखिएपछि भेटघाट गरेका ट्रम्प आफै पनि कोरोनाको संक्रमण छ कि भनि परिक्षण गर्न लाग्दैछन् । यस अघि अमेरिकाले बेलायत बाहेकका युरोपियन राष्ट्रका उदान रद्द गरिसकेको छ । बेलायतमा समेत उदान रद्द गर्ने तयारी भइरहेको ट्रम्पले बताएका छन् ।