काठमाडौं । भिजिट नेपाल २०२० नजिकिएसँगै होटल रेष्टुराँ खुल्ने क्रम बढेको छ । पछिल्लो समय स्टार होटलभन्दा पनि क्षेत्रीय रुपमा साना होटल तथा रेष्टुराँ खुल्ने क्रम बढेको कम्पनी रजिष्टार कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ४ महिनमा मात्र ४ सय ६६ होटल तथा रेष्टुराँ दर्ता भएको छ । सरकारले २०२० लाई भ्रमण वर्ष सहित २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएसँगै होटल तथा रेष्टुराँ खुल्ने क्रम बढेको हो ।
पछिल्लो समयमा कम्पनी रजिष्टारमा साना होटल तथा रेष्टुँरा दर्ताको क्रम बढे पनि ठूला होटलमा भने लगानी घट्दै गईरहेको कम्पनी रजिष्टार कार्यालयको तथ्याङकमा उल्लेख छ ।
५० करोड रुपैयाँ लगानीमा दर्ता भएका होटल वण्डरल्याण्ड र होटल विरगञ्ज प्लाजा मात्रै रहेको छ । २५ करोड रुपैयाँभन्दा माथीको लगानी रहेको होटल तथा रेष्टुँराको संख्या भने ३ ओटा रहेका छन । जुन स्वर्णिम होटल पोखरा, डाली होटल विथ रेष्टुरेन्ट र रोयल मण्डले होटल पर्सा रहेका छन ।
त्यस्तै, १ करोड रुपैयाँभन्दा माथी २५ करोड रुपैयाँसम्म अधिकृत पूँजी भएका होटलको संख्या १ सय पुगेको छ । ५० लाख देखी १ करोड रुपैयाँसम्म लगानी भएका होटलको संख्या भने १ सय २६ ओटा रहेका छन । ५० लाख रुपैयाँसम्म अधिकृत पूँजी भएका होटलको संख्या भने २ सय ३४ ओटा रहेका छन ।
लण्डन । अफगानिस्तान जारी एकदिवसीय क्रिकेट विश्वकपबाट बाहिरीने पहिलो टोली बनेको छ । शनिबार भएको रोमाञ्चक खेलमा भारतसँग ११ रनले पराजित भएसँगै अफगानिस्तानको सेमिफाइनल सम्भावना समाप्त बनेको हो ।
प्रतियोगिताको अघिल्लो चार खेलमा लगातार पराजय बेहोरेको अफगानिस्तानलाई सेमिफाइनल सम्भावना जीवित राख्न कुनै पनि अवस्थामा भारतलाई परातिज गर्नुपर्ने बाध्यता थियो । यद्यपि अफगानिस्तानले आफूलाई आवश्यक नतिजा निकाल्न सकेन ।
अफगानिस्तानविरुद्धको खेलमा भारतले भने जितसँगै केही महत्वपूर्ण उपलब्धीसमेत हात पारेको छ । प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको भारतले एकदिवसीय क्रिकेट विश्वकपमा ५०औं जित हात पारेको छ । यही खेलमा बलर मोहम्मद सामीले ह्याट्रिक विकेट लिएका छन् । उनी विश्वकपमा यो उपलब्धी हात पार्ने मात्रै दोस्रा भारतीय खेलाडी बनेका छन् ।
जितसँगै पाँच खेलबाट नौं अंक बनाएको भारत अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भारतले पाँचमध्ये चार खेलमा जित हात पारेको छ भने न्युजिल्यान्डविरुद्धको खेल वर्षाका कारण अनिर्णीत बनेको थियो ।
साउथह्याम्पटनमा टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुईसय २४ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तान ४९.५ ओभरमा दुईसय १३ रनमै समेटिन पुगेको थियो ।
अफगानिस्तानलाई जितका लागि अन्तिम ६ बलमा १६ रन आवश्यक परेको अवस्थामा सामीले ह्याट्रिक विकेट लिएका हुन् । उनले अन्तिम ओभरको तेस्रो, चौथो र पाँचौ बलमा अफगानिस्तानका मोहम्मद नावी, अफ्ताब आलम र मुजिव उर रहमानलाई लगातार आउट गरेका थिए ।
सामीले ह्याट्रिकसँगै चार विकेट लिए । उनीबाहेक म्यान अफ दी म्याच चुनिएका जसप्रित बुम्राह, युजभेन्द्र चहल र हार्दिक पाण्ड्याले दुई/दुई विकेट लिए ।
भारतको सशक्त बलिङसामु अफगानिस्तानका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । मोहम्मद नाबीले ५५ बलमा ५२ रनको अर्धशतकीय योगदान गरे । रहमत शाहले ३६, कप्तान गुल्बदिन नइबले २७, हस्मतुल्लाह सहिदीले २१, नजिबुल्लाह जद्रानले २१, रासिद खानले १४ र हज्रतुल्लाह जजईले १० रन जोडेका थिए ।
त्यसअघि अफगानी स्पिनरले उत्कृष्ट प्रदर्शन गर्दा भारत पनि मध्यम योगफलमै रोकिएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ६३ बलमा ६७ र केदार जाधवले ५२ रनको अर्धशतकीय योगदान दिए ।
कोहलीले आफ्नो पारीमा पाँच चौका प्रहार गरेका थिए । जाधवले एक छक्का र तीन चौका प्रहार गरे । अन्य ब्याट्सम्यान भने सस्तो योगफलमै आउट हुन पुगे । प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ३०, विजय शंकरले २९ र महेन्द्रसिंह धोनीले २८ रन जोडेका थिए ।
अफगानी स्पिनरले भारतको पाँच विकेट लिए । त्यसमा मोहम्मद नाबीको नाममा दुई विकेट रह्यो । मुजिव उरु रहमान, रहमत शाह र राशिद खानले एकरएक विकेट लिए । यस्तै तीब्र गतिका बलर गुल्वदिन नइबले दुई र अफ्ताब आलमले एक विकेट लिए ।
काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले ९५ प्रतिशत ॐकार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको बताएका छन् ।
गुरु गोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशीला तथा नेपाल विश्व हिन्दू महासंघले शनिबार आयोजना गरेको बृहत् धार्मिक सभामा उनले यस्तो बताएका हुन् । वि.सं. २०६८ को जनगणनाअनुसार पौने तीन करोड जनसंख्यामा दुई करोड १५ लाख हिन्दू रहेको उल्लेख गर्दै उनले संविधानको सुझाव लिने समयको जनमतलाई कदर गरेको भए धर्म सापेक्ष देश हुने दावी गरे ।
विश्वमा ४२ वटा संविधानमै इस्लाम धर्म लेखिएका देश भएको बताउँँदै पूर्वउपराष्ट्रपति झाले सनातनदेखि वैदिक मूल्यमान्यतालाई आत्मसात् गर्दै आएको नेपाललाई धर्मनिरपेक्ष लेखिएकामा लामो समयदेखि असन्तुष्टि रहिरहेको जिकिर गरे ।
पूर्वसांसद भिक्षु आनन्दले संकीर्ण मानसिक सोचका कारण हिन्दू र बौद्धको उद्गमस्थल नेपालको तपोभूमि, ज्ञानभूमि र शान्तिभूमिको परिचय हराउने खतरा बढेको बताए ।
कार्यक्रममा पूर्वमुख्य न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठ, भारतको गुरु गोरक्षनाथ इन्टरनेसनल फाउन्डेसनका उपाध्यक्ष तेजपाल सिंह, विश्व हिन्दू महासंघ बेलायत शाखाका अध्यक्ष चिरञ्जीवी ढकाल, ज्येष्ठ नागरिक समाजका संयोजक चिरञ्जीवी कँडेल, रामजानकी मन्दिर जनकपुरका महन्त जगन्नाथ वैष्णवदास, पाशुपत योगाभ्यास स्थलका महात्मा सुशील, वृन्दावन संरक्षण समिति अछामका संयोजक कमानसिंह खड्का, नेपाल विश्व हिन्दू महासङ्घका सचिव अभिषेक तिवारी, राम बाबा, आधारशीलाका अध्यक्ष रुद्रबहादुर आले लगायतले वैदिक सनातन धर्मको संरक्षणमा ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रममा लोपोन्मुख मौलिक खैँजडी भजनको प्रस्तुतिसमेत गरिएको थियो । (रासस)
एजेन्सी । खाना खाएपछि धेरै मानिसलाई निद्रा लाग्छ । यसलाई वैज्ञानिक भाषामा फुड कोमा भन्ने गरिन्छ । एक स्वस्थ व्यक्तिको शरीरमा झन्डै ५ लिटर रगत सञ्चार भएको हुन्छ । शरीरका विभिन्न भागमा आवश्यकता अनुसार रगत पुगिरहेको हुन्छ । मुटुबाट सामान्य अवस्थामा २८ प्रतिशत रगत कलेजोमा, २४ प्रतिशत मृगौलामा, १५ प्रतिशत मांसपेशीमा, १४ प्रतिशत मस्तिष्कमा र बाँकी १९ प्रतिशत रगत अन्य भागमा सञ्चार भएको हुन्छ ।
खाना पचाउनका लागि हाम्रो पेटमा भएको मांसपेशीमा अधिक रगत सञ्चार हुनुपर्छ । त्यसैले हाम्रो शरीरले खाना लगत्तै पेटको मांसपेशीमा शरीरको रगतको धेरै भाग पठाउँछ । त्यस्तो अवस्थामा अन्य भागमा रगत पहिलेको तुलनामा कम हुन्छ । मस्तिष्कमा रगतको मात्रा कम भएर क्रियाशीलतामा ह्रास आउँछ । त्यति बेला शरीरले आराम खोज्छ । त्यसैले खाना खाइसकेपछि आराम गर्न पर्ने पुरानो सोच वैज्ञानिक देखिन्छ ।
अत्यधिक कार्बोहाइड्रेट पाइने खानेकुराको सेवनले शरीरमा इन्सुलिन बढ्छ र त्यसले ट्रिप्टोफेनको निर्माण गर्छ । यो मस्तिष्कमा पुगेपछि सेरोटोनिन बन्ने प्रक्रिया सुरु हुन्छ र मेलाटोनिनका कारण मानिसलाई निद्रा लाग्ने गर्छ । यसबाट बच्नका लागि एकै पटक ठुलो परिमाणमा खाना खानुको सट्टा थोरै–थोरै खाना छोटो–छोटो अवधिमा सेवन गर्दा राम्रो हुन्छ ।
तर खाना खाएपछि आरामसँग कुर्सीमा बस्ने बानी गर्नुहुँदैन । यसको साटो केही समय हिँड्ने वा क्रियाशील रहने गर्नुपर्छ । यसो गर्दा राम्रोसँग खाना पच्नुका साथै रगतमा चिनीको मात्रा पनि नियन्त्रण भएर जाने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विधेयकलगायतका अन्य अप्रजातान्त्रिक विधेयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको जिकिर गरे ।
उनले भने, “मिडिया काउन्सिलसम्बन्धी विधेयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको छ । यो सरकार गठन भएको आज १५ महिना एक दिन भयो, अहिलेसम्मको अवस्था हेर्दा यो सरकारले नियन्त्रणमुखी प्रवृत्ति अपनाएको छ ।” उनले सरकारले प्रेसमाथि गर्न खोजेको नियन्त्रणको कोसिस आफ्नो पार्टीलाई कुनैपनि हालतमा स्विकार्य नहुने बताए । उनले भने, “विधेयकमा यस्ता प्रावधान छन्, जसमा पत्रकारलाई १५ वर्षसम्मको कैद र एक करोडसम्मको जरिवाना राखिएको छ । हामी यो विधेयकको विपक्षमा छौं ।” केसीले आफूहरु अन्तिमसम्म पनि यो विधेयकको विरुद्धमा सडक र सदनमा विपक्षमा उभिने जनाए । त्यस्तै, उनले सुरक्षा परिषदसम्बन्धी विधेयकको पनि आफूहरुले विरोध गरेको जनाए । मानव अधिकारसम्बन्धी विधेयकमा पनि संवैधानिक अधिकार कटौती गर्न खोजिएको केसीको आरोप छ ।
वर्तमान सरकार दुई तिहाईको दम्भमा निरंकुशतातर्फ अघि बढिरहेको बताउँदै केसीले भने, “शक्तिको आडमा मुलुकलाई निरंकुशतातर्फ धकेल्ने कुरा हामीलाई स्विकार्य छैन । हामी यो सरकारको कामबाट गम्भिर रुपमा आशंकित छौं ।” उनले वर्तमान सरकारसँग हिम्मत र आँट भए भ्रष्टाचारीलाई जनतासामू नंग्याएर कारबाही गरि देखाउन चूनौतीसमेत दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैभित्रका भ्रष्टाचारीलाई कारवाही गर्ने हिम्मत नदेखाएको उनको आरोप छ ।
प्रधानमन्त्रीले हालै एक कार्यक्रममा वर्तमान सरकारलाई जनसरकार भनेर सम्बोधन गरेको सुनाउँदै उनले उक्त अभिव्यक्तिलाई कम्युनिष्ट भाषाको संज्ञा दिए । उनले भने, “यसले पनि यो सरकार जनवादी केन्द्रियतातर्फ जान लागेको संकेत गर्छ । तर, हामी लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्दैनौं ।”
काठमाडौं, १९ बैशाख । नेपाल आयल निगमले पेट्रोलयम पदार्थको मुल्य बढाएको छ ।
निगमले राती १२ बजेबाट लागु हुने गरि पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।
तर हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ मुल्य बढाएको छ ।
काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ पुगेको निगमका प्रवक्ता विरेन्द्र गाइतले खरीबोटलाई जानकारी दिएका छन् ।
पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनु परेको निगमको भनाइ छ ।
अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ
काठमाडौं। वैशाख २६ ( मे ८ ) गते जन्मिएकी नायिका सुहाना थापाले बुधबार आफ्नो जन्मदिन सञ्चारकर्मी र फ्यानसँग केक काटेर मनाएकी छिन् । उनको जन्मदिनको अवसर पारेर फिल्म ‘ए मेरो हजुर ३’को सफलता पार्टी पनि आयोजना गरिएको थियो । कार्यक्रममा नायक अनमोल केसी, सलोन बस्नेत , निर्देशक दिपाश्री निरौला, निर्माता तथा नायक भूवन केसी, निर्माता माधव वाग्ले लगायतको उपस्थित थिए ।
उनको फिल्म ‘ए मेरो हजुर ३’अहिले २६ औं दिनमा हलहरुमा चलिरहेको छ । उनले आफ्नो जन्मदिनको अवसर पारेर आफुले पाएको माया र शुभकामनाका लागी धन्यवाद दिएकी थिइन् र ‘ए मेरो हजुर ३’को टिमसँग आफू जोडिन पाउँदा अत्यन्तै खुशी भएको तथा धेरै कुरा सिक्न पाएको बताएकी थिइन् ।
काठमाडौं, २६ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन् ।
क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि छिन् ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरे । सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।